दाेस्राे बिहे गरिन् बलिउड अभिनेत्री दीया मिर्जाले


मुम्बई – बलिउड अभिनेत्री दीया मिर्जाले आज सोमबार बिहे गरेकी छन्। उनले आफ्ना प्रेमी वैभव रेखीसँग विवाह गरेकी हुन्।

भारतीय सञ्चार माध्यम एनडिटिभीका अनुसार उनीहरूले मुम्बईमा आफ्ना साथी र परिवारका सदस्यको सानो जमघटमा बिहे गरेका हुन्। वैभव पेसाले व्यवसायी हुन्।

सोमबार साँझ विवाह सकिएपछि उनीहरूले पत्रकारहरूलाई तस्वीर खिच्ने समय दिएका थिए जो विवाह स्थान बाहिर उनीहरूलाई पर्खेर बसेका थिए।

मोडलिङबाट करिअर सुरू गरेकी दीया सन् २००० की मिस इन्डिया सेकेन्ड रनर अप र सोही वर्षकी मिस एसिया प्यासिफिक हुन्।

फिल्म ‘रेहेना है तेरे दिलमे’ बाट बलिउडमा प्रवेश गरेकी दीयाले ‘दम’,’दीवानापन’,’परिणिता’,’लगे रहो मुन्नाभाइ’, ‘सलाम मुम्बई’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन्। उनी अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा मान्यता दत्तको भूमिकामा देखिएकी थिइन्। उनको पछिल्लो बलिउड फिल्म ‘थप्पड’ हो।

दीयाको सन् २०१४ मा व्यवसायी शाहिल सांगासँग बिहे भएको थियो। तर सन् २०१९ मा उनीहरूको डिभोर्स भयो।

प्रतिक्रिया