टाइगर श्राफ र सारा अलीको जोडी


मुम्बई – बलिउड अभिनेता टाइगर श्राफको फिल्म बागी ४ बन्ने भएको छ । बागीमा टाइगरसंग नायिकाको रूपमा सारा अली खान अनुबन्धित भएकी छन् । बागीको तेस्रो शृंखला पनि सफल भएपछि बागी–४ बनाउने घोषणा गरिएको थियो । यो फिल्ममा पनि विगतका तीन शृंखलाजस्तै नायकको रूपमा टाइगर श्राफ नै अनुबन्धित भएका छन् ।

यसअघि दिशा पटानी नायिकाको रूपमा अनुबन्धित हुने चर्चा थियो । तर, निर्माता साजिद नाडियाडवालाले यसमा सारा अली खानलाई अनुबन्धित गरेका हुन् ।

अभिनेत्री सारा पहिलोपटक टाइगरसँग यो फिल्ममा जोडिएकी हुन् । यसअघि सारा र टाइगरले फिल्म हिरोपन्ती–२ मा काम गर्ने भनिए पनि अर्को नायिका राखिएको थियो । साजिदले हिरोपन्ती–२ मा उनलाई राख्न नपाएपछि यतिबेला बागी–४ मा अनुबन्धित गरेको बताएका छन् ।

आफू बागी–४ का लागि निकै उत्साहित रहेको अभिनेत्री साराले बताएकी छन् । यो एक्सन प्रधान फिल्मका लागि आफूले सोहीअनुसारको तयारी गरेको पनि उनले बताएकी छन् ।

फिल्म बागीको पहिलो शृंखला २०१६ मा बनेको थियो । बागी हिट भएपछि अभिनेता टाइगरकै अभिनयमा फिल्म बागी–२ र बागी–३ निर्माण गरिएको थियो । बागीका–३ वटै शृंखला हिट भएपछि बागी–४ को निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया