अपरेशन रिचार्ज कार्डः चोरीका मोटरसाइकलसहित ३ पक्राउ


भक्तपुर- महानगरीय प्रहरी वृत्त ठिमीले ‘अपरेसन रिचार्ज कार्ड’ नाम अभियान सुरु गर्दै चोरीका चार मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रामेछाप घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी बस्ने बर्ष १८ को अरुण तामाङ, जिल्ला दोलखा भिमेश्वर नगरपालिकाका घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका बोडे बस्ने बर्ष २२ को महेश तामाङ, जिल्ला सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल घर भई हाल कागेश्वरी नगरपालिका वडा नं. ०९ मुलपानी बस्ने बर्ष २९ को मनोज लामा रहेको प्रहरी नायब उपरीक्षक ऋषिराम कडेलले जानकारी दिए ।

उनीहरुले कात्तिक ३ गते बिहान ९ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं। ३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको पल्सर मोटरसाइकल हराएको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो । चोरी भएको ठाउँ नजिकै एक जना शंकास्पद व्यक्ति आई फोन रिचार्ज गरेको र सोही समयमा नै मोटरसाइकल हराएको भन्ने यकिन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानेर प्रहरीले ‘आपरेसन रिचार्ज कार्ड’ नामबाट अनुसन्धान शुरु गरेको थियो ।

उनीहरुको साथबाट  परिवर्तित नम्बर प्रदेश ३–०२–०१७ प ६१६७ राखिएको लु ६३ प ७०७४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सीसीकै रातो–कालो रंगको पल्सर मोटरसाइकल, प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सीसीको निलो पल्सर मोटरसाइकल र प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सीसीको सेतो रंगको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

रिचार्ज कार्ड प्रयोग भएको फोन नम्बरलाई आधार बनाई अनुसन्धान गर्दा कात्तिक ३ गते नै दिउँसो साढे ३ बजे भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं। २ मगरगाउँस्थित साजन न्यौपानेको घर अगाडि पार्किङ गरी राखेको प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको पल्सर मोटरसाइकल पनि चोरी भएको सूचना प्रहरीमा आएको थियो ।

चोरीका दुवै घटनालाई समानान्तर अनुसन्धान गर्दै जाने क्रममा मध्यपुर ठिमी नगरपालिका वडा नं। ८ स्थित बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्टको अगाडि सडकमा लु ६३ प ७०७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल नम्बर परिवर्तन गरेको अवस्थामा फेला परेको थियो । लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलको नम्बरमा परिवर्तित नम्बर प्रदेश ३–०२–०१७ प ६१६७ नं को प्लेट जडान गरिएको अवस्थामा फेला परेको थियो । त्यही स्थानमा करिब साढे ४ बजे रामेछापको ठोसे घर भई हाल भक्तपुरको बोडे बस्ने वर्षीय अरुण तामाङ प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सिसिको रातो–कालो रंगको पल्सर मोटरसाइकलसहित पार्किङ गरी भाग्दै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

No description available.

उनीसँगको प्रारम्भिक अनुसन्धानको आधारमा दोलखाको भिमेश्वर नगरपालिका ४ घर भएका २२ वर्षीय महेश तामाङलाई बोडेस्थित उनकै डेराबाट प्रहरीले पक्राउ गर्यो । महेशलाई कार्यालयमा ल्याई रिचार्ज कार्ड बेच्ने पसलेबाट सनाखत गराउँदा सनाखत समेत भएको प्रहरीले जनाएको छ ।

त्यसपछि महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका वडा ७ घर भई हाल काठमाडौंको कागेश्वरी नगरपालिका ९ मुलपानी बस्ने २९ वर्षीय मनोज लामालाई पनि प्रहरीले पक्राउ गर्यो । मनोज लामा प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको र महेश तामाङको प्रारम्भिक अनुसन्धानको आधारमा प्रदेश ३–०२–९००३ प ३८३५ नम्बरको २२० सीसीको सेतो रंगको पल्सर मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका वडा नं। ५  कमेरोटारबाट बरामद गरिएको प्रहरी नायब उपरीक्षक कडेलले जानकारी दिए ।

प्रतिक्रिया