सांसदको दशैं भत्ता मृगौलापीडितलाई


तनहुँ– तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दशैं भत्ता जिल्लाका मृगौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको दशैं खर्चबापतको ६४ हजार सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका चार मृगौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनको घोषणा अनुसार व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका–१४ का सन्तोष रानालाई रु १६÷१६ हजार सहयोग गरिनेछ ।

देशमा विषम् परिस्थिति र नागरिक समस्याग्रस्त भएको अवस्थामा दशैं खर्चबापतको रकमको औचित्यका बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मृगौलापीडितलाई दिने सांसद श्रेष्ठले बताए । सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात् अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहँु जिल्लाका विभिन्न संघसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएको स्मरण गराउँदै उनले भविष्यमा पनि उक्त सहयोगलाई निरन्तरता दिने घोषणा गरे ।

‘अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण नागरिक आक्रान्त बनेका छन् । देश विषम परिस्थिति र नागरिक आर्थिक कठिनाइमा परेका बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो’, उनले भने । (रासस)

प्रतिक्रिया