सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त, शपथ भोली


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासकोमत नपाएपछि ठूलो दलका हैसियतले कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले शाहलाई अहिले मुख्यमन्त्रीमा नियुक्त गरे। विश्वासको मत नपाएपछि बिहीवार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका थिए। रावल नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ मा मुख्यमन्त्री बनेका थिए। तर उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल आजै पदमुक्त भएका हुन्।

आज नियुक्त भएका शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनले १० हजार ४३३ मत ल्याएका थिए। कांग्रेसको केन्द्रीय महाधिवेशनमा शेखर कोइराला पक्षमा रहेका उनी जिल्ला अधिवेशनदेखि संस्थापन अर्थात् देउवा पक्षमा छन्। उनी ०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएका थिए।

प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, सांसद छन्। नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र र राप्रपाका १ सांसद छन्।

प्रतिक्रिया