
मायाजालमा पारेर रकम ठगी गर्ने दुई जना जेल चलान
दाङ – तुलसीपुरमा ‘मायाजाल’मा पारेर ५ करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतराज पुर्पक्षका लागि कारागार चलान गरिएको छ। थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतराजलाई कारागार चलान गर्न आदेश दिएको हो।
जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो। सिंहका दुईवटा नागरिकता भएको समेत खुलेको छ। ‘हनिट्रयाप’को आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। ती मध्ये तुलसीपुर १८ ग्वारखोला निवासी ३६ वर्षीया कृष्णी कुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ।
उनलाई अदालतले एकलाख रुपैँया धरौटी तोकेको थियो। तर, धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो। अपराधिक लाभ मुद्दा चलाईएका घोराही-१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी भने एक लाख धरौटीमा छुटेका छन्। प्रहरीले तीनै जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो।
व्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्धा हाल्ने धम्की दिदै ती पुरुषसँग उनीहरुले ५ करोड माग गरेका थिए। उनीहरुले पटकपटक गरी ३० लाख रुपैँया लगिसकेको खुलेको छ। पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई स्कुटरको लाइसेन्स र दुइवटा नागरिकता बनाउन सहयोग गरेको समेत खुलेको छ। त्यस्तै पीडित भनिएका तुलसीपुर ती पुरुषलाई पनि सरकारी कागज कीर्ते गरेको भन्दै मुद्दा चलाईएको छ। पक्राउ परेका उनलाई साधारण तारेखमा छोडिएको छ।



कागजपत्र |
