गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिँदै


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासको मत लिने भएका छन्। सोमबार मुख्यमन्त्री नियुक्त भएका अधिकारीले चार दिनमै विश्वासको मत लिने भएका हुन्। अधिकारी प्रदेशमा रहेका पाँच दलमध्ये चार दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री अधिकारीले २९ गते विश्वासको मत लिने विषय जानकारी गराएका थिए। यस लगतै मुख्यमन्त्रीले विश्वासको मत लिने आवश्यक प्रक्रियाका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए।

प्रदेश सभा सचिवालयले २९ गते मुख्यमन्त्रीले विश्वासको मत लिने गरी कार्यसूचीमा राख्ने व्यवहोराको पत्र मंगलबार नै सचिवालयमा आएको जनाएको छ। मुख्यमन्त्रीको पत्र सचिवालयले दर्ता गरी २९ गते विश्वासको मत लिन लागेको विषय प्रदेश सभाका सदस्यहरूलाई मंगलबार नै जानकारी गराएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीसुब्बा गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

एमाले संसदीय दलका नेता अधिकारी प्रदेश सभाका ३३ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। ६० सदस्य प्रदेश सभामा अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ सदस्य र स्वतन्त्र निर्वाचित भएर हाल एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङको समेत गरेर ३३ सदस्यको समर्थन रहेको छ। प्रदेश सभामा नेपाली कांग्रेसका २७ सदस्य रहेका छन्।

प्रतिक्रिया