एपीएफ पीएम कप क्रिकेटको फाइनलमा


काठमाडौं – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हात पार्दै विभागीय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २०४ रनको लक्ष्य पुलिसले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै पुलिसले मात्र १७३ रन बनायो । पुलिसका लागि पवन सरार्फले ६१ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ४० रन बनाउन सफल भए । त्यस्तै रासिद खानले ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे ।

बलिङतर्फ एपीएफका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । ९ ओभर २ बल बलिङ गरेका उनले १ मेडन ओभर पनि फालेका थिए । एपीएफका लागि कमल ऐरी, अविनास बोहोरा र कप्तान शरद भेषावकरले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । एपीएफका लागि शंकर रानाले ९६ बल खेल्दै ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले ३४ रन बनाउँदा भुवन कार्कीले ४२ रनको योगदान गरे ।

एपीएफका लागि कप्तान भेषावकरले १८ रन बनाए । एपीएफका लागि १०औं नम्बरमा ब्याटिङ गर्न आएका उनले अन्तिम दुई बलमा एक छक्का र एक चौका प्रहार गर्दा एपीएफले आफ्नो लक्ष्य २०४ बनाउन सफल भयो ।

बलिङतर्फ पुलिसका लागि आरिफ सेखले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन ओभरसहित ३१ रन खर्चिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलले २र२ विकेट लिए । रासिद खान र सागर ढककालले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया