
यतिबेला सिङ्गो नेपालको छातीमा बज्रपात परेको छ: प्रधानमन्त्री शाह
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बाढी तथा पहिरोले रसुवा, नुवाकोट र धादिङमा मात्र नभई सिङ्गो नेपाललाई नै गहिरो पीडा दिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढी सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका हुन् ।
उनले विपद्का कारण मन भक्कानिए पनि अहिले शोकमा मात्र डुबेर बस्ने समय नभएको बताउँदै उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए।
‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन,’ उनले भने।
प्रधानमन्त्री शाहले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफन्त अझै सम्पर्कविहीन भएर उनीहरूको खोजीमा दिनरात बाटो हेरिरहेका नागरिकको पीडा आफूले गहिरो रूपमा महसुस गरेको बताए।
सङ्कटको घडीमा सरकार र देशको नेतृत्वले आँसु देखाउनेभन्दा नागरिकमा हिम्मत, आड र भरोसा जगाउनुपर्ने उनले बताए।
‘दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन। हामी लडिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने।
विपद्को कठिन घडीमा सरकार पछि नहट्ने स्पष्ट पार्दै उनले उद्धार तथा राहतका कामलाई अझ प्रभावकारी बनाउने र पुनर्निर्माणका लागि ठोस योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई एकजुट भएर अघि बढ्नसमेत आग्रह गरे।



कागजपत्र |
