
नेदरल्यान्ड्ससँग नेपाल पराजित
काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल बिहीबार घरेलु टिम नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको छ।
यस शृङ्खलामा नेपालको यो दोस्रो हार हो। दुई दिनअघि नामिबियासँग पनि नेपाल आठ विकेटले हारेको थियो।
नेदरल्यान्ड्सको अलरेक्टमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भएको थियो। नेपाल पछिल्लो खेलमा पनि १५७ रनमै सीमित भएको हो। नेदरल्यान्ड्सले ४४.१ ओभरमा चार विकेटको क्षतिमा १५८ रन बनाएर लक्ष्य हासिल गर्यो।
नेपाल अङ्क तालिकामा ३० खेलबाट २४ अङ्कसहित पाँचौँ स्थानमा छ। नामिबिया र क्यानडाको पनि समान २४ अङ्क छ। नेपालले नामिबियाभन्दा एक र क्यानडाभन्दा दुई खेल बढी खेलेको छ।
नेदरल्यान्ड्स २९ खेलमा ३४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। अमेरिका (४३ अङ्क) पहिलो र स्कटल्यान्ड (३८ अङ्क) दोस्रो स्थानमा छन्।
आठ टिम सहभागी यस प्रतियोगिताबाट विश्वकप एकदिवसीय छनोटमा सिधा प्रवेश पाउन शीर्ष चार र एकदिवसीय मान्यता जोगाउन शीर्ष छ मा पर्नुपर्ने हुन्छ।
नेदरल्यान्ड्सविरुद्ध नेपालका लागि आरिफ शेखले ९० बलमा चार चौकासहित सर्वाधिक ४१ रन बनाए। यसै गरी गुल्सन झाले २९ र उपकप्तान दीपेन्द्रसिंह ऐरीले २१ रनको पालि खेले। अन्य ब्याट्सम्यानमा करण केसी (अविजित १३ रन), आसिफ शेख (१४ रन) र सोमपाल कामी (१० रन) पौडेल तीन र सन्दीप लामिछाने शून्यमा आउट भए।
घरेलु टिमका लागि स्पिनर रोयलफ भान डर मेर्वे र एलेक्स रोयले तीन/तीन, लोगान भान बिकले दुई तथा काइल क्लेनले एक विकेट लिए।
त्यसपछि कप्तान स्कट एडवर्ड्सले अविजित ६१ रनको अर्धशतकीय पालि खेलेपछि नेपाल खेलमा फर्कन सकेन । एडवर्ड्स र नोह क्रोयसले पाँचौँ विकेटका लागि ८५ रनको अविजित साझेदारी गरेका थिए।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए।



कागजपत्र |
