
नामिबियाविरूद्ध नेपालको खराब प्रदर्शन, ८ विकेटले पराजित
काठमाडौं – ब्याटिङ र बलिङ दुबैमा असफल भएपछि नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत आठौं त्रिकोणात्मक सिरिजमा खराब सुरुआत गरेको छ।
मंगलबार आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग ८ विकेटको हार बेहोर्यो। नेदरल्यान्ड्सको युट्रेच्ट शहरस्थित स्पोर्टपार्क मार्सचाल्करविर्ड मैदानमा नेपालले दिएको को १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
नामिबियाको जितमा तेस्रो नम्बरका ब्याटर यान जेन फ्राइलिन्कले ८९ बलमा ८ चौका र एक छक्कासहित सर्वाधिक ७७ रनको पारी खेले। त्यस्तै ओपनर माइकल भान लिंगेनले ७९ बलमा चार चौकासहित ५१ रनको अर्धशतकीय पारी खेले । यसैगरी चौथो नम्बरका निकोल लोफ्टी इटन १७ रनमा अविजित रहे।
सातौं ओभरको पाँचौं बलमा नन्दन यादवले नेपाललाई ब्रेक थ्रु दिलाएका थिए। नन्दनले दुई रनमा ब्याटिङ गरिरहेका ओपनर एलेक्सेन्डर भोल्सेन्कलाई पवेलियनको बाटो देखाए। जतिबेला नामिबिया २१÷१ को स्थितिमा थियो । त्यसपछि लिंगेन र फ्राइलिन्कले पारी सम्हालेका थिए।
कप्तान रोहित पौडेलले नेपालका लागि दोस्रो सफलता दिलाए । उनले लिंगेनलाई बोल्ड गरेका थिए।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १५८ रनको सामान्य योगफल खडा गरेको थियो। योहानस जोनाथन (जेजे) स्मिथको सानदार बलिङ अगाडि नेपालको ब्याटिङ चल्न सकेनन्। जसका कारण ४६.५ ओभरमा सबै विकेट गुमाएको नेपालले मात्र १५७ रन जोड्न सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले ६० बलमा सर्वाधिक ३१ रन जोडे। त्यस्तै उप–कप्तान दीपेन्द्रसिंह ऐरिले ३० तथा गुल्सन झाले २० रनको योगदान गरे। यसैगरी करण केसीले १८, विकेटकिपर तथा ओपनर आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए।
नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर कुश भुर्तेललाई गुमाएको थियो । रोहित र दीपेन्द्रले पारी सम्हाल्न खोजेपनि सय रन कट्नुअघि ६ खेलाडी पवेलियन फर्किन बाध्य भए । त्यसपछि नेपालले चार विकेट खर्चिँदा मात्र ५८ रन जोड्न सक्यो।
नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक ६ विकेट लिए । त्यस्तै ज्याक ब्रासेल र बर्नाड शोल्ट्जको नाममा समान दुई विकेट रह्यो।
सिरिजको दोस्रो खेलमा नेपालले बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ।



कागजपत्र |
