बाँकेमा एक वर्षमा ६ करोडको चोरी पैठारीको सामान बरामद, ५३ जना पक्राउ


काठमाडाैं – प्रहरीले बाँकेमा एक वर्षको अवधिमा झण्डै रु छ करोड बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ ।खुल्ला सीमा क्षेत्रको फाइदा उठाएर विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याइएको सो रकम बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालयले रु पाँच करोड ९० लाख ५४ हजार बराबरका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा रु दुई करोड ५० लाखको अवैध मालसामान बरामद गरिएको थियो । चोरी पैठारी गर्ने ५३ जना पक्राउसमेत परेको प्रहरीले जनाएको छ ।

‘खुल्ला सीमा क्षेत्र धेरै भएकाले चोरी पैठारीको समस्या बढी देखिएको छ, त्यसैले पनि प्रहरीले त्यस्ता ठाउँमा निगरानी बढाएको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने । चालु विभिन्न मुद्दामा पक्राउ पर्ने प्रतिवादीको सङ्ख्या पनि अघिल्लो वर्षभन्दा झण्डै दोब्बर छ ।

गएको आर्थिक वर्षमा एक हजार ३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए । गएको आर्थिक वर्षमा प्रहरीले चार किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता सङ्ख्या पनि अघिल्लो आर्थिक वर्षभन्दा बढेको छ ।

आव २०७८/७९ मा एक हजार १५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागुऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने सङ्ख्या केही घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२६ मुद्दा दर्ता भएकामा गत वर्ष ११२ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया