नेपालमा कैदीबन्दीः अमेरिकीदेखि चिनियाँसम्म नेपालका जेलमा, सबैभन्दा धेरै कुन देशका?


नेपालका विभिन्न कारागारमा हाल कैयौँ देशका नागरिक कैदीबन्दीका रूपमा रहेको कारागार व्यवस्थापन विभागको तथ्याङ्कले देखाउँछ।

गत जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा छिमेकी मुलुकहरू भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक कारागारमा छन्।

विभागका अनुसार उनीहरू लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा सजाय काटिरहेका हुन्।

कति कैदीबन्दी कुन अपराधमा दोषी पाइएका हुन् भन्नेबारे एकीकृत तथ्याङ्क चाहिँ आफूहरूसँग नरहेको विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले बताए।

विभागका पूर्वनिर्देशक जनकराज दाहालको अनुभवमा चाहिँ विदेशी कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारसम्बन्धी मुद्दाका दोषी हुने गरेका छन्।

जेठ मसान्तसम्म नेपाली कारागारमा विदेशी कैदीबन्दीको सङ्ख्या १,३३६ रहेको तथ्याङ्क छ।

सबैभन्दा धेरै कहाँका?

नेपाली कारागारमा रहेका विदेशी कैदीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेको तथ्याङ्कले देखाउँछ।

जेठ महिनासम्म उनीहरूको सङ्ख्या १,१७५ रहेको छ जुन कुल विदेशी कैदीबन्दीको ८७.९४ प्रतिशत हुन आउँछ।

तीमध्ये वाग्मती प्रदेशका कारागारमा सबैभन्दा धेरै ३८८ जना भारतीय कैदीबन्दी रहेका छन्। त्यसपछि मधेश प्रदेशमा २५९ जना भारतीय कैदीबन्दी छन्।

कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात्‌ एकजना भारतीय कैदीबन्दी रहेको तथ्याङ्क छ।

अर्को छिमेकी मुलुक चीनका २६ जना कैदीबन्दीले सजाय काटिरहेका छन्। भुटानका २२, पाकिस्तानका २१, बाङ्ग्लादेशका नौजना छन् भने अमेरिकाका तीनजना छन्।

विभागका अनुसार रुस, डेनमार्क, जर्मनी, यूके, सिङ्गापुर, फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, जापान लगायत देशका पनि नागरिकहरू अहिले कैदीबन्दीका रूपमा कारागारमा रहेका छन्।

किन भारतीय धेरै?

आधिकारिक तथ्याङ्क नभए पनि नेपालमा ठूलो सङ्ख्यामा भारतीय नागरिकहरू औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन्।

“खुला सिमानाका कारण जुनसुकै नाकाबाट सजिलै आउजाउ गरेका हुन्छन्, विभिन्न पेशा व्यवसाय पनि गरिरहेका हुन्छन्,” धेरै भारतीय कैदीबन्दी हुनुको एउटा कारणबारे विभागका सूचना अधिकारी शिवाकोटीले बीबीसीसँग भने।

खुला सिमानाका साथै दुई देशका अपराधीहरूबीच साठगाँठका कारण पनि उनीहरूको सङ्ख्या तुलनात्मक रूपमा धेरै भएको पूर्वगृह सचिव उमेश मैनाली बताउँछन्।

“अपराधीहरूबीच सम्बन्धका कारण यताका उता जाने भए अनि उताका यता आउने भए। यो पनि एउटा कारण हो,”बीबीसीसँग उनले भने।

आउजाउका लागि प्रवेशाज्ञा नचाहिनुले पनि आपराधिक घटनामा अरू मुलुकका भन्दा भारतका नागरिक बढी संलग्न भएको पाइएको कतिपय जानकार बताउँछन्।

“मुख्य कुरा त खुला सिमाना नै हो। अर्को कुरा नजिकको सम्बन्ध छ, साथीभाइको हिसाबले भारतीय नागरिकको आउजाउ पनि धेरै छ,” कारागार व्यवस्थापन विभागका पूर्वनिर्देशक दाहालले बीबीसीसँग भने।

सामान्य मजदुरी गर्नेदेखि कपाल काट्ने, कबाडी सङ्कलन गर्ने, तरकारी बेच्ने लगायतका काममा नेपालीभन्दा भारतीय नागरिक धेरै रहेको अधिकारीहरू बताउँछन्।

यद्यपि उनीहरूको सङ्ख्याबारे यकिन तथ्याङ्क अहिलेसम्म कुनै पनि सरकारी निकायले उपलब्ध गराउन सकेका छैनन्।

समाधानका उपाय के?

सुरक्षासम्बन्धी दुई देशका निकायले एकअर्कालाई सहयोग नगरे सीमापार अपराध रोक्न कठिन हुने पूर्वगृहसचिव मैनालीको ठम्याइ छ।

“दुई देशका गृह मन्त्रालयबीच राम्रै सम्बन्ध छ। परराष्ट्र मन्त्रालयहरूबीच पनि त्यस्तै सम्बन्ध हुनुपर्‍यो अनि दुई देशका प्रहरीबीच अझ राम्रो समन्वय हुनुपर्‍यो,” उनले थपे।

सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा व्यवस्थापन चाहिँ महत्त्वपूर्ण पक्ष भएको कारागार व्यवस्थापन विभागका पूर्वनिर्देशक दाहाल बताउँछन्।

“भिसा नलाग्ने भए पनि सीमानाकाको राम्ररी व्यवस्थापन गर्ने हो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। कोभिड महामारीका बेला आउजाउ व्यवस्थित गरिएकै हो,” पूर्वनिर्देशक दाहालले थपे।

मैनालीका अनुसार दुई दशकअघि परीक्षणका रूपमा नेपालगन्ज र भैरहवा सीमानाकामार्फत् आउजाउ गर्ने दुई देशका नागरिकको लगत राख्ने प्रयास नभएको पनि होइन।

“परीक्षणका रूपमा हामीले एक वर्षजति गर्‍यौँ, तर व्यावहारिक भएन भन्दै त्यो खारेज भयो,” उनले स्मरण गरे।

यद्यपि सुरक्षा संवेदनशीलतालाई थप महसुस गरेको हो भने दुई देशले अब त्यो अभ्यास थाल्नुपर्ने पूर्वगृह सचिव मैनालीको सुझाव छ।

“भिसा नलाग्ने भए पनि आउजाउ गर्नेहरूको विवरण चाहिँ अब राख्न थाले हुन्छ। उदाहरणका लागि दुई देशमा हवाईयात्रा गर्न जसरी कागजपत्र चाहिन्छ त्यसरी नै निश्चित खालका कागजपत्र अनिवार्य गरिदिए हुन्छ,” उनले थपे।

कति कारागार छन्?

कारागार व्यवस्थापन विभागका अनुसार धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुममा बाहेक देशका ७२ जिल्लामा ७४ वटा कारागार कार्यालय छन्।

दाङका घोराही तथा तुल्सीपुरमा गरी दुई ठाउँमा र काठमाण्डूका जगन्नाथदेवल एवं डिल्लीबजारमा गरी दुई ठाउँमा कारागार छन्।

बाँकेको गनापुरमा खुला कारागारको र नौबस्तामा क्षेत्रीय कारागारको निर्माण कार्य भइरहेको विभागले जनाएको छ।

स्थानीयस्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको हुने कानुनी व्यवस्था छ।

विभागका अनुसार कैदीबन्दीको उपचारका लागि काठमाण्डूमा केन्द्रीय कारागार अस्पताल र ललितपुरमा मनोसामाजिक अपाङ्गता बन्दी अस्पताल सञ्चालनमा छन्।

प्रतिक्रिया