मृत्युदण्डकाे सजाय ताेकिएका साउदीका कान्छा कैदी रिहा


काठमाडौं – सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आशङ्कामा १३ वर्षको उमेरमै पक्राउ परेका एक कैदीलाई साउदी अरबको सरकारले जेलमुक्त गरेको अधिकारकर्मीहरूले बताएका छन्। मुर्तजा कुरेरिसलाई मृत्युदण्डको सजाय माग गरिएको भए पनि उनलाई जेल सजाय मात्र दिइएको थियो।

उनी सन् २०१४ मा पक्राउ परेका थिए। उनीविरुद्ध लागेका धेरै अभियोगमध्ये सन् २०११ मा भएको ुअरब स्प्रिङु प्रदर्शनमा सहभागी भएको आरोप पनि थियो। कुरेरिस राजनीतिक प्रदर्शनमा सहभागी भएको कारण नियन्त्रणमा लिइएका साउदी अरबका सबैभन्दा कान्छा कैदी भएको ठानिएको थियो।

अल्पसङ्ख्यक शिया मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने उनलाई साउदी अरबको पूर्वी प्रदेशमा अरू बालबालिकासँगै साइकलमा विरोध र्‍यालीमा सहभागी भएको भिडिओहरूमा देखिएको थियो।

साउदी अरबमा शिया मुस्लिमहरूले बहुसङ्ख्यक सुन्नी मुस्लिमहरूबाट भेदभाव भएको र आफूहरूलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिएको गुनासो गर्दै आएका छन्। अरब देशहरूमा भएको विद्रोहबाट प्रभावित भएर उनीहरूले पनि साउदी प्रशासनविरुद्ध सडकमा प्रदर्शन गरेका थिए।

तर त्यहाँ फैलिएको तनाव सुरक्षाबल प्रयोग गरेर शान्त पारिएको थियो। त्यस बेला र लगत्तैका प्रदर्शनमा सहभागीहरूलाई पक्राउ गरिएको थियो र कतिपयलाई मृत्युदण्ड पनि दिइएको थियो। मानवाधिकारका क्षेत्रमा काम गरिरहेका समूहहरूले मुर्तजा कुरेरिसलाई बिना कुनै आरोप वर्षौँसम्म नियन्त्रणमा लिइएको बताएका छन्।

उनी रिहा भएपछि उनी पक्राउ पर्दै गर्दाको तस्बिरसँग कुरेरिसको तुलना गरिएको छ। त्यस बेला सानो बालक देखिएका उनी अहिले दाह्री पलाएका युवक भएका छन्। उनलाई अदालतमा सुनुवाइको क्रममा एउटा अतिवादी आतङ्कवादी समूहमा आबद्ध भएको अभियोग लगाइएको थियो।

उनलाई प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेको आरोप लागेका आफ्ना दाजुलाई सहयोग गरेको अभियोग लागेको थियो। यो अभियोगमा उनलाई मृत्युदण्ड दिनुपर्ने माग सरकारी वकिलहरूले गरेका थिए। अधिकारकर्मीहरूले उनलाई झुन्डाएर मारिने जोखिम रहेको औँल्याएका थिए।

उनको स्वीकारोक्तिलाई प्रमाणको रूपमा पेस गरिए पनि कुरेरिसले आफूलाई यातना दिएर बोल्न लगाइएको बताएका थिए। बालकलाई आरोपित गरिएको यो घटनाले अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको थियो। त्यसैले पनि उनलाई मृत्युदण्डको सट्टा जेल सजायको मात्रै फैसला गर्न दबाव पुगेको थियो।

सुरुमा उनलाई १२ वर्षको जेल सजाय तोकिए पनि पछि सजाय आठ वर्ष कायम गरिएको थियो। पूरा सजाय भुक्तान गरेपछि उनी थुनामुक्त भएका हुन्। मानव अधिकारकर्मीहरूले उनलाई मुक्त गर्ने निर्णयको स्वागत गरेका छन्।

तर उनलाई थुनामा राखिएको समयमा मृत्युदण्डको त्रासका कारण परेको मनोवैज्ञानिक असरको परिपूरणका बारेमा उनीहरूले चिन्ता व्यक्त गरेका छन्। सन् २०२० मा साउदी अरबमा नाबालक अभियुक्तलाई मृत्युदण्ड दिन नपाइने शाही आदेश जारी गरिएको थियो। तर मानवाधिकारवादीहरूले त्यसको कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरेका थिए। बीबीसी

प्रतिक्रिया