

होटल मनाङको स्विमिङ पुल नजिक रक्ताम्य अवस्थामा विदेशी नागरिकको शव

काठमाडौं – काठमाडौंको ठमेलस्थित होटल मनाङको स्विमिङ पुल नजिक एकजना विदेशी नागरिकको शव फेला परेको छ। शव बुधवार बिहान सात बजेर १५ मिनेटमा फेला परेको हो।
मृतक आयरल्याण्डका नागरिक रहेको प्रहरीले जनाएको छ। शवको नजिक गमलाहरु फुटेको अवस्थामा छ। घटनास्थलमा रगतका छिटाहरु छन्।
अहिले काठमाडौं प्रहरी कार्यालय, वृत्त लैनचौर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयसहित फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
मंगलबार राती २ बजे (बुधबार बिहान) मदिरा पिएर दुई युवा होटेलमा आएको पाइएको बुझिएको प्रहरीले जनाएको छ। उनीहरुलाई होटेलको सुरक्षा गार्डहरुले रोक्न खोजे पनि जबर्जस्ती छिरेका थिए।
उनीहरु जबर्जस्ती होटेलको लिफ्टबाट माथि गएको होटल मनाङमा कार्यरत सुरक्षा गार्डहरुले प्रहरीसमक्ष बयान दिएका छन्। मृतकको मोबाइल र पर्स सातौ तलामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले मृतकसँगै आएका युवा भारतीय नागरिकलाई भने सातौं तलामा सुतिरहेको अवस्थामा भेटिएको जनाएको छ।

