सुपारी आयात खुला गर्न सरकारलाई निर्देशन दिने तयारी


काठमाडौं –  व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य समितिले सुपारी आयात खुला गर्न दिन सरकारलाई निर्देशन दिने भएको छ । समितिले बनाएको उपसमितिको सुझाव अनुसार यस्तो निर्देशन दिन लागिएको हो । समितिकै निर्देशन अनुसार सरकारले सुपारी आयात रोक्दै आएको छ ।

शुक्रबार पनि  साना व्यवसायीसहित उद्योग मन्त्री एवं सचिवहरुसँग छलफल गरेको थियो । शुक्रबारको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निश्चित व्यापारीले सुपारी आयात गर्ने तर उद्योगहरुले नपाउने अवस्था रहेको बताए । सोही कारण उद्योगको क्षमता अनुुसार सुपारी आयातलाई व्यवस्थित गर्न खोजिएको उनले बताए । समितिको यसअघिको निर्देशन अनुुसार सुपारी आयात रोकिएको भन्दै उनले समितिको निर्देशन एवं सुझाव अनुुसार अगाडि बढ्न तयार रहेको बताए ।

बैठकमा समिति सभापति बिमल प्रसाद श्रीवास्तवले उपसमितिको अध्ययन प्रतिवेदन, उद्योगी एवं साना व्यवसायीहरुसँगको छलफलका आधारमा आयात खुला गर्न दिनुपर्ने निष्कर्षमा समिति पुगेको बताए ।  समिति सदस्य प्रकाश रसाइलीको संयोजकत्वमा एक अध्ययन समिति बनाइएको थियो । उपसमितिले गुड्खा उद्योगी, पान व्यवसायीलगायत सरोकारवालाहरुसँग छलफल एवं उद्योगहरुको अनुगमन गरेको रसाइलीले बताए ।

अध्ययन क्रममा नेपालमा सुपारीको माग कति हो भन्ने तथ्यांक नै सरकारसँग नभएको पाइएको उनले बताए । हचुवाको भरमा यसअघिको सरकारले निश्चित ट्रेडरलाई मात्रै सुपारी आयात गर्न दिएको पाइएको उनले बताए । उनले निश्चित व्यापारीले सुपारी आयात गर्ने गरेको बताए । उनले नेपालमा सुपारीको प्रयोग विभिन्न संस्कार एवं धार्मिक कार्यमा प्रयोग हुँदै आएको बताए ।

उनले उद्योग मन्त्रालयले सुपारीको माग कति भन्ने अध्ययन गरी झापा, मोरङ, सुनसरीका क्षेत्रमा सुपारी उत्पादन बढाउन सहुलियत दिई सुपारी उत्पादनलाई प्रबद्र्धन गर्नसमेत आग्रह गरे । यस्तै उनले पान पसललाई करको दायरामा ल्याउन समेत आग्रह गरे ।

 

प्रतिक्रिया