प्रधानसेनापति शर्माद्वारा कङ्गोमा निधन भएका स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण


काठमाडाैं – नेपाली सेनाले कङ्गोमा विद्रोहीको गोली लागेर निधन भएका प्युठ अनिल गुरुङको योगदान र वीरताप्रति सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित कार्यक्रममा नेपाली शान्ति सैनिकका रूपमा शान्ति स्थापना कार्यमा खटिएका बखत निधन भएका स्व. गुरुङको पार्थिव शरीरमा सेनाको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरे ।

अफ्रिकी मुलुक कङ्गोमा चैत २२ गते सञ्चालन भएको अपरेशन ‘बाली’का क्रममा विद्रोहीबाट भएको फायरबाट घाइते भई स्थानीय बुनियाँस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

उनको पार्थिव शरीर मंगलवार स्वदेश ल्याइएको थियो । प्युठ गुरुङको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्दै सेनाले श्रद्धाञ्जली प्रकट गरेको हो ।

सुर्खेत जिल्लाको गुर्माकोट नगरपालिका जहरे निवासी गुरुङ कङ्गोमा तैनाथ नेपाली शान्ति मिसनमा कार्यरत थिए । रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सो अवसरमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक रिचर्ड होवार्डले स्व. गुरुङको पार्थिव शरीरमा संयुक्त राष्ट्रसंघको झण्डा ओढाइ सम्मान प्रकट गरे । त्यस अवसरमा नेपाली सेनाको टुकडीले स्व. गुरुङको सम्मानमा सलामी अर्पण गरेको थियो ।

त्यस अवसरमा प्रधान सेनापति महारथी शर्माले कङ्गोस्थित मिसनका फोर्स कमाण्डरले पठाएको समवेदना पत्र र अन्तिम दाहसंस्कारका लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरे । स्व. प्युठ अनिल गुरुङको पार्थिव शरीरलाई बुधवारै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगेर परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया