प्रधानसेनापति शर्माद्वारा सिरियाका मन्त्री र सैनिक अधिकृतसँग भेट


काठमाडौ – प्रधानसेनापति प्रभुराम शर्माले सिरियास्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनडोफ)को औपचारिक भ्रमणका क्रममा बुधबार सिरियाका परराष्ट्र मन्त्रीसहित मिसन अन्तरगतका सुरक्षा पोष्टमा रहेका नेपाली सैनिकसँग भेट गरी जानकारी लिएका छन् ।

लेवनान स्थित युनिफिल मिसनको औपचारिक भ्रमण गरी बुधबार सिरिया गएका प्रधानसेनापति शर्माले सिरियावको माउन्ट हर्मन कम्प्लेक्सस्थित फोर्स हेडक्वाटरको इन्फेन्ट्रि सपोर्ट युनिटको दशौं डफ्फाको बारेमा सो इलाकाको स्थलगत अध्ययन गरी बस्तुस्थितिको बारेमा जानकारी लिएका हुन् ।

महाराथी शर्मालाई सोही अवसरमा शान्ति सेना युनिटमा रहेका नेपाली शान्ति सैनिकहरु चार जनालाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति शर्माले ईन्फेन्ट्रि सपोर्ट युनिटका नेपाली सैनिकलाई संवोधन गर्दै भौगोलिक, सामरिक तथा सुरक्षाको दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानको रुपमा रहेको माउण्ट हर्मन इलाकामा तैनाथ रहेर शान्ति स्थापनाका लागि योगदान दिएर नेपाल, नेपाली सेना र संयुक्त राष्ट्रसंघको विश्वस्नियता बढाएकोमा धन्यवाद दिए ।

सो अवसरमा प्रधानसेनापतिले राजधानी दमास्कसमा रहेको सिनियर सिरियन अरब प्रतिनिधिका सैनिक अधिकृत तथा परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गरी पुरानो दमास्कस क्यास्टलको अवलोकन गरेका थिए ।

प्रतिक्रिया