प्रधानसेनापति शर्मा र लेवनानी प्रधानमन्त्रीबीच शिष्टाचार भेट
काठमाडौं – लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानसेनापति शर्माले आजै त्यहाँका रक्षामन्त्री मौरिस स्लीम, सभामुख नबिह बेरी र लेवनानका सैनिक कमाण्डर जनरल जोसेफ खलिल आऊनसँग शिष्टाचार भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त भेटघाटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानसेनापति शर्मा यही असार ४ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ गएका थिए ।