प्राधिकरणले किन्यो २० बिजुली गाडी, चलाउन मान्दैनन ड्राइभर


काठमाडौं – नेपाल विद्युत प्राधिकरणले २० वटा बिजुली गाडी खरिद गरेको छ। केन्द्रीय कार्यालय कर्पोरेट कामको लागि विजुली गाडी खरिद गरिएको हो। पेट्रोलियम पदार्थबाट चल्ने सवारी कम गर्दै विद्युतीय सवारीको प्रयोग बढाउने उदेश्यले टाटाको विद्युतीय नेक्सन खरिद गरिएको प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले बताए।

भट्टराईका अनुसार प्राधिकरणले छोटो दुरीका लागि विस्तारै अन्य पनि बिजुली गाडी किन्ने योजना बनाएको छ। बिजुली गाडी खरिद गरेपछि प्राधिकरणका चालकहरूले बिजुली गाडी नचलाउन लबिङ गरेका विषयहरू पनि बाहिरिएका छन्। विद्युतीय सवारीमा तेलको सुविधा नपाइने र मर्मतको पैसा निकै कम हुने भएकाले अतिरिक्त आम्दनी गुम्ने डरले चालकहरु त्यस्ता सवारी आफूहरु नचलाउने जुक्ति लगाउन थालेका हुन् ।

उनीहरुले ति विद्युतीय सवारी आफुहरुलाई सकभर नभिडाउन भन्दै उपल्लो तहका अधिकारीलाई अनुनय विनय गर्न थालेका छन् ।  विद्युतीय सवारी चलाउने जिम्मा पाउन लागेका अधिकांश चालकले आफूलाई विद्युतीय गाडी नदिन पहल थालेका छन् । कर्मचारी संघ संगठनका नेताले समेत उनीहरुको गुनासो लिएर सक्रियता देखाएका छन्, ।

प्राधिकरणका एक अधिकारी भन्छन्, ‘तेल, मोबिल, टायर र मर्मतका नाउमा अतिरिक्त खर्च जुटाउने अवसरबाट वञ्चित हुने देखिएपछि चालकहरु त्रस्त छन् ।’

यसअघि सडक विभागले किनेको विद्युतीय सवारी चलाउन पनि चालकहरुले मानेका थिएनन् । केही मन्त्रालय र निकायले किनेका विद्युतीय सवारी चालक र कर्मचारीले चढ्ने इच्छा नदेखाएपछि अत्यावश्यक अवस्थामा मात्रै प्रयोगमा आउने गरेका छन् । यस प्रकारका गतिविधि वातावरण जोगाउने सरकारको अभियानका प्रतिकुल रहेको भन्दै जानकारहरुले चिन्ता गरेका छन् ।

प्रतिक्रिया