

तत्कालको विद्युत समस्यामा उद्योगीले राजनीति गरे : कुलमान घिसिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १/२ दिनको समस्यालाई पनि उद्योगी व्यवसायीले वर्षौंको समस्या जस्तो गरी राजनीति गरेको बताएका छन् । घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताए । बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन । कुनै–कुनै ठाउँमा कुनै–कुनै दिन पिक आवर र प्रसारण लाइनमा समस्या हुँदा एक/ दुई घण्टा विजुली काटिन्छ । बाँकी कही कतै लोडसेडिङ छैन ।’
त्यस्तै घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन विजुली आपूर्तिमा देखिएको समस्यालाई देखाएर उद्योगीहरुले राजनीतिक ढंगले प्राधिकरणसँग निशाना साँधेको बताएका छन् ।
निजी क्षेत्रले विजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्ण रुपमा राजनीतिक कुरा मात्रै भएको बताए । त्यस्तै उनले उद्योगीहरुले आफ्नो विरोध गरेको भन्दै अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको दाबी गरेका छन् । उनले देशमा विद्युतको माग बढाउन लागि परेको भन्दै ६०० मेगावाट विद्युत लोड उद्योगका लागि स्वीकृत गरिसकेको जानकारी दिए ।

