

मन्त्री मनाङेले कुटे कर्मचारी, भन्छन- सम्झाएको मात्रै हुँ

काठमाडाैं – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार कर्मचारीमाथि हातपात गरेका छन् ।
मंगलबार ५ बजेपछि मन्त्रीको कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि उनले हातपात गरेका हुन् ।
मन्त्रालयका एक कर्मचारीका अनुसार फाइल लिएर गएका ओझासँग मन्त्रीको भनाभन भएको थियो । भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गरेका थिए । युवा स्वरोजगारसम्बन्धी कार्यविधिमा छलफल हुँदा दुईबीच विवाद भएको बुझिएको छ । घटनापछि ओझा बुधबार कार्यालय आएका छैनन् ।
मन्त्री मनाङेले भने आफूले कुटपिट नगरी सम्झाएको दाबी गरे । ‘मन्त्रालयका गोप्य सूचना बाहिर लिक नगर्नु भनेर राम्रोसँग सम्झाएको मात्रै हो,’ उनले भने, ‘कहाँ–कहाँ के-के लिकेज भएको छ भनेर अब ५ सदस्यीय छानबिन समिति बनाउँदै छु ।’

