मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु


कैलाली – ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन्। धनगढीमा आजदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएका हुन्।

पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो। आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो। यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। सो अवसरमा उनले खेलकुदलाई चलायमान बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

मुख्यमन्त्री भट्टले कोभिड–१९ को सङ्क्रमणका कारण केही समय खेलकुदका गतिविधि हुन नसकेको तर अहिले सङ्क्रमण घटेपछि खेलका गतिविधि सुरुआत हुनुका साथै भौतिक संरचना निर्माण पनि थालिएको बताए।

आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले नगद रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले रु ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु २० हजार तथा उदीयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्बर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजारसहित पुरस्कृत गरिने बताइएको छ। प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई नगद रु एक हजार ५०० नगदसहित पुरस्कृत गरिने छ।

प्रतिक्रिया