चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै, शनिबार काठमाडौँबाटै पोखरा विमानस्थलको उद्घाटन गर्ने


काठमाडौँ- चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै छ। पाकिस्तानबाट भारत र भारतबाट सोझै नेपाल आउने विदेशमन्त्री वाङ यीले राजनीतिक भेटघाटसँगै चिनियाँ सहयोगमा बनेको परियोजनाको पनि उद्घाटन गर्ने भएका छन्।

वाङ यीले पोखरामा निर्माणाधीन अन्र्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने भएका छन्। वाङ यी पोखरा जाने छैनन्।काठमाडौँबाटै भर्चुअल माध्यमबाट उक्त विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्नेछन्। परराष्ट्रमन्त्री डा. नारायण खड्को निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आउन लागेका हुन्।

चिनियाँ विदेशमन्त्रीको टोली भारत हुँदै शुक्रबार साँझ काठमाडौँ उत्रनेछ।चिनियाँ विदेशमन्त्री वाङ नेपाल आएको दिन शुक्रबार साँझ कुनै पनि उच्चस्तरीय भेटवार्ता छैनन्। उनले आएलगत्तै काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छी र दूतावासका अधिकारीसँग ब्रिफिङ लिनेछन्।

भोलीपल्ट शनिबार दिउँसो परराष्ट्रमन्त्री डा. खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्नेछन्। खड्काले वाङलाई दिवाभोज दिने कार्यक्रम छ। तर भोज कहाँ भन्ने खुलाइएको छैन। त्यही समय नेपाल र चीनबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ।

शनिबार अपरान्ह वाङले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्नेछन्। आइतबार वाङले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नेछन्। त्यसपछि अन्तिममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर उनी बेइजिङ उड्ने छन्। अमेरिकी सहायता परियोजना एमसीसीको विरोध गर्दै आएको चीनको एमसीसी अनुमोदनपछिको यो पहिलो उच्चस्तरीय भ्रमण हो। चीनले पनि आफ्नो बीआरआई परियोजना नेपालमा अघि बढाउने विषयमा यसपटकको भ्रमणमा शीर्ष नेतासँग कुरा गर्ने बुझिएको छ।

प्रतिक्रिया