राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस र आर्मी सेमिफाइनल


कैलाली – धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्। आज भएको पहिलो खेलमा आर्मीले प्रदेश नं १ लाई ३-० को सोझो सेटले पराजित गर्‍यो।

यस क्रममा २५–१७, २५–२१ २५–९ को सेटले आर्मीसँग प्रदेश नं १ पराजित भएको हो। खेलका ‘म्यान अफ द म्याच’ आर्मीका दुर्गा खड्का भए।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ। पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो। खेलका ‘म्यान अफ द म्याच’ पुलिस क्लबका हिम राना भए।

आजै बिहान भएको अर्को खेलमा घरेलु टोली सुदूरपश्चिम बागमती प्रदेशलाई पराजित गर्दै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ। सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गरेको हो। पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो।

चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो। खेलका म्यान अफ द म्याच सुदूरपश्चिमका सन्तोष महता भए। प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ।

प्रतिक्रिया