‘जनमोर्चा’ सत्तारोहणदेखि नै सुसन कर्माचार्यको यसरी भयो आर्थिक उदय, खोला जति झोलामा
काठमाडौं– कमानसिंह लामा निधन प्रकरणदेखि विवादमा तानिएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठकी नीजि सचिवका रुपमा कार्यरत सुसन कर्माचार्यको आर्थिक उदय जनमोर्चा र माओवादी सत्तारोहणदेखि नै भएको तथ्य फेला परेको छ।
१६ वैशाख ०६४ सालमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले तत्कालिन जनमोर्चाबाट गिरीराजमणि पोखरेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेपछि कर्माचार्यले राज्यको संयन्त्रमा आर्थिक चलखेल सुरु गरेकी थिइन्। जनमोर्चाको साधारण कार्यकर्ता रहेकी कर्माचार्यको आर्थिक अवस्था त्यसबेलासम्म सामान्य थियो।
पोखरेलको सचिवालयमा रहेर स्वास्थ्य मन्त्रालयमा उनको प्रवेश भयो। उच्च स्रोतका अनुसार त्यसबेला मेडिकल कलेज सञ्चालकहरूसँग कर्माचार्यको सम्बन्ध राम्रोसँग स्थापित भएको थियो। यस्तै अस्पतालमा लगानी गर्नेहरू पनि उनीनिकट हुन पुगेको स्रोतको दाबी छ।
संविधानसभाको पहिलो निर्वाचनपछि तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भए। उनको मन्त्रिपरिषदमा पोखरेलले सोही मन्त्रालयमा निरन्तरता पाउँदा कर्माचार्य पनि सचिवालयमा फेरि निरन्तरता पाउनेमा पर्छिन्।
‘मन्त्री पोखरेलभन्दा सुसन कर्माचार्यको निर्देशन कडा हुने गरेको थियो’, उनलाई चिन्नेहरूले अनुभव सुनाए। ०६६ जेठमा माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा माओवादी सडकमा पुगेको थियो। त्यसबेलाको २२ महिना भने कर्माचार्यका लागि सरकारी संयन्त्रभन्दा बाहिर बस्नुपर्ने बाध्यता आइलागेको थियो।
तर सत्ताको रसमा भिजेको तत्कालिन माओवादी फेरि २३ माघ ०६७ मा गतिला मन्त्रालयसहित झालनाथ खनाल नेतृत्वको सरकारमा सहभागी भयो। ०६८ साउनमा मन्त्रिपरिषद् पुनर्गठन हुँदा नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा गृहमन्त्री भए, कर्माचार्य उनकै सचिवालयमा पुगिन्।।
१२ भदौ ०६६मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा श्रेष्ठले उपप्रधान र परराष्ट्र मन्त्री हुने मौका पाए, जहाँ कर्माचार्य स्वकीय सचिवका रुपमा निरन्तरता पाउनेमा पर्छिन्। ‘कम्युनिस्ट पार्टीमा निर्णय गरेर स्वकीय सचिवमा पनि अनेकलाई मौका दिनुपर्ने हुन्छ। तर कर्माचार्यले जहिले पनि मौका मात्रै पाइन्’, तत्कालिन माओवादीका एक जना नेता भन्छन्,‘यहि मौकालाई उनले उपयोग गरे।’
श्रेष्ठ जापान गएका बेलास्वकीय सचिवका रुपमा श्रेष्ठले सुसन कर्माचार्य पनि सँगै जापान लिएर गए। सोही बेला कर्माचार्यका पति लक्ष्मण राजभण्डारीलाई पनि जापान जाने अवसर दिइएको थियो।
श्रेष्ठले आफ्नो निवासमा गर्ने कुनै पनि पत्रकार भेटघाटमा कर्माचार्य अनिवार्य हुने गरेकी छन्।
खोलाजति झोलामा
कर्माचार्य तीन वटा हाइड्रोपावर कम्पनीको अध्यक्ष छिन् । १३ वर्षदेखि उनी मन्त्री, उपप्रधानमन्त्रीकै सचिवालयमा कार्यरत र सहयोगी छिन् ।
कमानसिंह लामाले बैङ्कमा आफ्नो सम्पत्ति राखेर सबैभन्दा बढी लगानी गरेको याम्बालिङ हाइड्रोपावर प्रालिकी अध्यक्ष हुन्। यस्तै, इन्ट्रन हाइड्रोपावर प्रालि र मादमे खोला हाइड्रोपावर प्रालिमा पनि कर्माचार्य अध्यक्ष छिन् ।
कर्माचार्यको लगानी विभिन्न भाष स्कुलदेखि कलेजमा समेत रहेको बताइन्छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कर्माचार्यको सम्बन्ध राम्रो रहेको बताइन्छ।
यी शीर्षक पनि पढ्नुहोस्