नेकपा प्रवक्ता श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यको ठगहरूसँग उठबस यस्तो छ
काठमाडौं– पूर्वराजदूत तथा पूर्वसांसद कमानसिंह लामाले मृत्युअघि खुलासा गरेका विवरणमा तानिएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठकी नीजि सचिव सुसन कर्माचार्यको उठबस मुलुककै ठूलो ठगी काण्डका नाइकेहरूसँग पाइएको छ।
याम्बलिङ हाइड्रोपावरको शेयरका नाममा लामाको सम्पत्ती इन्द्रमाया तामाङमार्फत आफ्नो कम्पनी मनीप्लान्ट इन्भेष्टमेन्ट प्रालिमा तानेपछि विवादमा आएकी कर्माचार्य ओरन्टियल को-अपरेटिभमार्फत ठूलो ठगीकान्ड मच्चाएका सुधीर बस्नेत र उनका खास मानिसहरूसँग जोडिएको छ।
यो प्रकरणमा पनि कर्माचार्यले शक्तिको दुरुपयोग गरी लेनदेनमा मिलाएको खुलासा भएको हो। यो प्रकरणमा कर्माचार्य जोडिने मुख्य व्यक्ति हुन् बस्नेतका ठेकेदार रोशन साह तेली। तेलीसँगको सम्झौताका आधारमा सहयोगवापत बागमती अपार्टमेन्टमा कर्माचार्यको कनेक्शन बन्यो।
वागमती अपार्टमेन्टमा बस्ने ७६ परिवार पनि लिलामीको चपेटामा थिए। सुधीर बस्नेतले अपार्टमेन्ट धितो राखेर बैंक अफ काठमाण्डूबाट ७ करोड ऋण लिएर तिरेनन् । बैंकले लिलामी प्रक्रिया शुरू गरेपछि अपार्टमेन्टका उपभोक्ताले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।
वागमती अपार्टमेन्टमा बस्नेत भन्दा पनि ‘खेलाडी’ निस्किए सुधीरकै ठेकेदार साह तेली । तेलीले त्यहाँका २० अपार्टमेन्ट गैरकानूनी रूपमा बिक्री गरे । त्यसरी बेचेर आएको रकम बंैकमा जम्मा नगरेको तथा निर्माण कार्य पनि अधुरो राखेको भनेर ६० जना शुरू बुकिङकर्ता र तेलीसँग फ्ल्याट किन्ने अरू १६ जनाले २०७६ कात्तिकमा महानगरीय प्रहरी परिसर टेकुमा ठगी मुद्दा हालेका थिए।
उपभोक्ता समितिका अध्यक्ष जनक रिजाललाई उदृत गर्दै खोज पत्रकारिता केन्द्र (सीआईजे)ले एउटा रिपोर्टमा लेखेको छ,‘तेलीले करीब ८ करोड खल्तीमा हालेकोले हामी बस्ने घर नै बैंकको लिलामीमा परेको छ।’
प्रहरीले तेलीलाई पक्राउ गरेको थियो तर भोलिपल्टै नेकपा नेता श्रेष्ठकी नीजि सचिव कर्माचार्य महनगरीय प्रहरी परिसर टेकु पुगेर उपभोक्तासँग मेलमिलाप गर्ने भन्दै राजनीतिक ताकतको दबाबमा छुटाइन् ।
बागमती अपार्टमेन्टका उपभोक्ता समितिका अध्यक्ष जनक रिजाललाई उदृत गर्दै सीआईजेले अगाडि लेखेको छ,‘साहले आफ्नो गल्ती छोप्न नेता श्रेष्ठकी सहयोगी सुसन कर्माचार्यलाई सित्तैंमा अपार्टमेन्ट दिएका छन्।’
बागमती अपार्टमेन्टको दोस्रो तलाको १० नम्बर फ्ल्याटमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेट्न कार्यकर्तादेखि उच्च तहका नेता समेत पुग्छन् । पुष्पकमल दाहाल प्रचण्ड, शक्ति बस्नेत आदि नेताहरू आएको आफूले देखेको त्यहाँका एकजना उपभोक्ताले बताए।
आठौं तलाको ७ नं फ्ल्याटमा कर्माचार्य आफैं बस्छिन्। आठांै तलाको १ नं फ्ल्याटमा कर्माचार्य अध्यक्ष रहेको इष्टर्न हाइड्रोपावर प्रालिको कार्यालय छ।
पछिल्लो पटक अडिओ र भिडिओ रेकर्डसहित ८ करोड प्रकरणमा प्रवक्ता श्रेष्ठले मिलाउन खोजेको विवरण सतहमा आएपछि कर्माचार्य मुख्य व्यक्तिका रुपमा जोडिएकी छन्। उनले कमानसिंहको ऋण तिरिदिएको बाहनामा उनको नाममा रहेको २ करोडको शेयर त लिएकी नै छन्, इन्द्रमायासँगको मिलोमतोमा सित्तैमा पाएको अर्को २ करोड ५० लाखको शेयरसहित ४ करोड ५० लाखको धनी बनेकी हुन्।
पछिल्लो पटक लामाकी बुहारी मिनु लामाले मिडियालाई दिएको बयानअनुसार उक्त रकम कमानसिंहको उपचारका लागि माग गर्दा पनि पाइएको छैन।
तस्बिर स्रोतः सीआईजे