त्यागी, निष्ठावान सन्तनेता किसुनजी– जसको योगदान अनुयायीले नै विर्सिए

सन्दर्भ : कृष्ण प्रसाद भट्टराईको ११औं स्मृति


नेपालको राजनीतिक इतिहासमा कृष्णप्रसाद भट्टराई अर्थात किसुनजीको नाम छुटाउँदा अपुरो हुन्छ । किसुनजी, जसको नाम यति पवित्र छ कि कसैले पनि उहाँको कर्मलाई लिएर आपत्ति त के टिप्पणी गर्न समेत सक्दैनन् ।

किसुनजीको लुकेको एउटा जीवनशैली वा चरित्र भनेको असिमित उदारता हो । उहाँले राज्य सत्ता वा राजनीति हुँदा वा नहुँदा के कस्तो मन्तव्य दिनु भयो भन्ने कुराको खासै अर्थापन हुने गरेको छैन । कतिपयले त्यसको ‘सेन्स’ नै बुझ्न सक्दैन थिए ।

अपार स्वार्थका लागि दिलोज्यान दिनेहरुको चरित्र किसुनजीलाई थाहा नभएको होइन, त्यसैले उहाँ मान्छेको रुची र चाहना बमोजिमको अभिव्यक्ति दिएर उसको तुष्टि पुरा गराइ दिनुहुन्थ्यो ।

किसुनजीको वाणीमा लुकेको भाव वा व्यङ्ग्यले गहिरो र दूरगामी महत्व राख्दथ्यो । किसुनजी कर्मशील सन्त नेता हुनुहुन्थ्यो भन्ने कुरा उहाँको नश्वर शरिर रहँदा र नरहँदा पनि सबैले स्वीकारेका हुन् । तर किसुनजीको सच्चा अनुयायी बन्न भने फलामको चिउरा चपाउनु सरह देखिन्छ । उदारता र त्यागका प्रतिमुर्ती किसुनजीको विशेषता भनेकै प्रतिशोधरहित कर्म हो ।

उदारताका प्रतिमूर्ति

किसुनजीले आफ्नो जीवनपर्यन्त धेरै शारीरिक र मानसिक यातना भोग्नु भयो । उहाँले आफ्नो राजनीतिक जीवनमा आलोचना गर्ने सहकर्मीप्रति कहिल्यै प्रतिशोध साँध्नु भएन । किसुनजीको कार्यशैलीबाट कतिपय उहाँका अनुयायी दाबी गर्नेहरु भने चित्त बुझाउँदैन थिए र निकै मुुर्मुरिन्थे ।

पहिलो, २००७ सालको क्रान्ति शान्तिपूर्ण तवरले हुनुपर्छ भन्ने किसुनजीको मत विपरित मातृका प्रसाद, बीपी कोइराला र सुबर्ण शम्शेरले शसस्त्र आन्दोलन गर्दा, २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र ‘कू’ गरेपछि भारतमा बसेर हतियारबन्द आन्दोलनको पक्षमा रहेका बीपी र सुबर्णसँग फरक मत राख्दा, आफू पार्टी सभापति हुँदा संसदीय निर्वाचनमा उम्मेदवार हुँदा पार्टीकै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा अन्तरघात हुँदा समेत किसुनजीले कहिल्यै प्रतिशोध लिनु भएन ।

उहाँले २००७ को क्रान्तिमा बीपीकै आदेशमा पूर्वी नेपालको कमाण्ड सम्हाल्नु भयो र उदयपुर कब्जा गर्दा एक जना पनि मान्छेको मृत्यु भएन ।

दोश्रो, किसुनजी २०१७ को निर्दलीय पंचायति व्यवस्थाको बिरुद्ध भारतमा बसेर नेपालमा शसस्त्र क्रान्तिको विरोधी हुनुहुन्थ्यो । नेपालमै महेन्द्रनारायण निधीसँग मिलेर सत्याग्रहको पक्षमा उभिँदा जेलजीवन नै रोज्नु भयो । तर बीपी ०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किंदा बीपीलाई हार्दिकतापूर्वक स्वागत, साथ र सहयोग गर्नुभयो ।

किसुनजीले चाहेको भए राजनीतिक रुपमा मेरो एजेण्डाले जीत भयो, बीपी र सुवर्णको प्रवासमा बसेर नेपालको पंचायति शासन व्यवस्था ढाल्ने नीति गलत सावित भयो भन्न सक्नुहुन्थ्यो, तर उहाँले त्यस्तो दुर्भावना कहिल्यै प्रकट गर्नु भएन ।

तेश्रो, पार्टी सभापति समेत हुँदा किसुनजी २०५०मा काठमाडौं १ नम्वर क्षेत्रको उपनिर्वाचनमा प्रत्यासी हुँदा पार्टीकै नेता प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विपक्षमा उभिदा उहाँ पराजित हुनु भयो । शक्तिशाली एकमात्र निर्वाचित सभापति किसुनजीले आफ्ना सहकर्मी गिरिजाबाबुलाई कारबाही त के स्पष्टिकरण पनि नसोधी क्षमदान दिनु भयो ।

किसुनजीको अश्रुधार देख्नेहरुले अनुभव गरे र सुन्नेहरु भावुक बने । किसुनजीले भन्नु भएको थियो– ‘भीमसेन थापा र काजी भिम मल्लले दण्डित हुने प्रचलनबाट मुलुकले कहिले छुटकारा पाउने?…’ र मेरो जीवन मुल्य भनेकै आस्थाको राजनीति हो । आस्था र निष्ठाको राजनीति साँच्चिकै विसर्जित हुने हो भने भन्नु पर्छ –यो राष्ट्रको भविश्य छैन, यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न । कतै हाम्रो पहिचान नै बिलुप्त हुने त होइन ।’

बारम्बार दिने उपदेश

त्यसैले किसुनजी आफ्ना पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकलाई समेत बारम्बार गीताको सार सुनाउनु हुन्थ्यो कि ‘कर्म गर, फलको आशा नगर ।’ किसुनजीका धेरै अनुयायी दाबी गर्नेहरु हो मा हो मिलाउँथे तर आत्मसाथ गर्न सक्दैन थिए ।

लोभ, लालचा र आशक्तिमा लिप्त आफ्ना भनाउँदाको कार्यशैली किसुनजीलाई मज्जाले थाहा थियो, त्यसैले उहाँ मानिसको अनुहार, जिज्ञासा र अभिव्यक्ति हेरेर र सुनेरै यो व्यक्तिको स्वार्थ यस्तै होला भनेर सोही बमोजिमको मिठासपूर्ण जवाफ दिनु हुन्थ्यो ।

किसुनजीका छोटा टिप्पणीको भाषा सुन्ने तर भास्य नबुझ्नेहरु हलुका टिप्पणी गर्दथे । तर, किसुनजीको त्यो अभिव्यक्तिमा जिज्ञासा वा प्रश्न राख्नेहरुप्रति गहिरो व्यङ्ग्य हुन्थ्यो ।

उहाँ अनौपचारिक कुराकानीमा आफ्ना सन्देश सुन्न चाहने नेता र कार्यकर्तालाई भन्नु हुन्थ्यो ‘कलियुगका लोभी, पापी, लाल्ची र स्वार्थीहरुबाट बचेर प्रजातन्त्रको लागि आस्था र निष्ठापूर्वक लाग्नुस् ।’

त्यागको सतिसाल

किसुनजीको त्यागको चर्चा बारम्बार हुने गर्छ तर उहाँको दल नेपाली कांग्रेस र कार्यकर्ताले अनुशरण गर्न भने सकेका छैनन् । मुलुकको दुई पटक प्रधानमन्त्री बन्नु भएका किसुनजीको सम्पतिको नाममा मुलुकभर एक चप्परी जमिन पनि थिएन । न उहाँको अलिसान महल, बैंक मौज्दात वा अन्य भौतिक सम्पति नै थियो ।

पहिलो त, उहाँ २०४७ बैशाखमा प्रधानमन्त्री हुनु भयो, त्यही वर्ष संविधान जारी गर्नु भयो, २०४८मा आमनिर्वाचनमा काठमाडौं १ मा उम्मेदवार हुँदा नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीसँग पराजित भएपछि प्रधानमन्त्री निवास वालुवाटार छाड्नु भयो ।

करिव १ वर्ष मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका किसुनजी सत्तारुढ दलको सभापति पनि हुनुहुन्थ्यो । सरकारी निवास छाड्दा उहाँले साथमा एउटा टिनको बकस, पानी पिउन सुराई र एउटा छाता च्यापेर निस्कनु भयो । यस्तो तथ्य लेखिरहँदा कतिपयलाई यो दन्त्य कथा होला जस्तो लाग्छ , तर यथार्थ यही हो ।

दोश्रो, किसुनजी २०४८ मा कलवलगुडीमा भएको पार्टीको आठौं महाधिवेशनबाट सभापतिमा सर्वसम्मतले निर्वाचित हुनुभयो तर २०५३ मा नयाँवानेश्वरमा भएको नवौं महाधिवेशनमा पुनः सभापति हुने चाहना समेत राख्नु भएन । आफ्ना अनुयायी भनिएका चिरन्जीवि वाग्लेको पक्षमा भोट पनि माग्नु भएन् ।

तेश्रो, २०५५ सालदेखि नै कांग्रेसले औपचारिक रुपमा किसुनजी आगामी आमनिर्वाचनपछि प्रधानमन्त्री भनेर घोषणा गर्यो, २०५६ को आमनिर्वाचनमा कांग्रेसले बहुमत ल्यायो र किसुनजी प्रधानमन्त्री समेत हुनु भयो । तर उहाँको सरकारलाई ९ महिना पनि टिक्न दिइएन ।

फ्रान्स भ्रमणको निम्तो स्वीकार्न पनि दिइएन, अनि उहाँले २०५६ चैत ३ गते प्रतिनिधिसभाको रोष्टमबाटै प्रधानमन्त्रीको पद त्याग गर्ने घोषणा गर्नु भयो ।

सांसद भावुक बनाउने त्यो मन्तव्य

तत्कालिन राजा श्री ५ बीरेन्द्रलाई प्रधानमन्त्री पदको राजिनामा पत्र बुझाउनुअघि किसुनजीले प्रतिनिधिसभामा करिव २१ मिनेट लामो मन्तब्य दिँदै गर्दा संदनमा सन्नाटा छायो ।

किसुनजीको अश्रुधार देख्नेहरुले अनुभव गरे र सुन्नेहरु भावुक बने । किसुनजीले भन्नु भएको थियो– ‘भीमसेन थापा र काजी भिम मल्लले दण्डित हुने प्रचलनबाट मुलुकले कहिले छुटकारा पाउने?…’ र मेरो जीवन मुल्य भनेकै आस्थाको राजनीति हो । आस्था र निष्ठाको राजनीति साँच्चिकै विसर्जित हुने हो भने भन्नु पर्छ –यो राष्ट्रको भविश्य छैन, यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न । कतै हाम्रो पहिचान नै बिलुप्त हुने त होइन ।’

किसुनजीले चाहेको भए राजिनामा नदिन सक्नु हुन्थ्यो किनकी उहाँ बहुमत प्राप्त नेपाली कांग्रेसको संसदीय दलको नेता हुनुहुन्थ्यो । तर त्यागका प्रतिमुर्ती किसुनजीले पदको नभइ निष्ठा र आस्थाको बाटो रोज्नु भयो ।

साथ दिने र छाड्ने स्वार्थी अनुयायी

किसुनजी पार्टी र राज्यसत्तामा हुँदा उहाँका अनुयायी र सहयोगी धेरै थिए । तर, तिमध्ये निकै कमले मात्र उहाँको जीवनको उत्तरार्थमा साथ दिए । त्यसैले आफ्ना अघि र पछि नेता र कार्यकर्ता आइरहुन, भेटिरहुन भन्ने उदेश्यले उहाँ भन्नुहुन्थ्यो, ‘तन बुढो भए पनि मन बुढो छैन’, ज्योतिषका अनुसार म फेरि एक पटक प्रधानमन्त्री हुन्छु ।’

किसुनजीले सात दशक पार गरिसक्दा पनि किन पदको चाहना गरेको होला भनेर केहिले टिप्पणी गर्दथे । तर किसुनजी भन्नु हुन्थ्यो ‘लोभी, पापी, लाल्ची र स्वार्थीहरुलाई यति पनि नभन्ने हो भने मेरो सुझाव मान्ने होइन, भेट्न पनि आउँदैनन् ।’

आफूलाई निस्वार्थ भावले साथ दिनेमध्येका योगप्रसाद उपाध्याय र स्वर्गी बासुदेव रिसालले किसुनजीलाई लामो समयदेखि साथ दिनु भयो र किसुनजीले पनि उहाँहरुले साथ र अवसर दिनु भयो ।

उहाँले प्रजातन्त्र आएपछि आफ्ना सहयोगी र हितैषिहरु धेरैलाई अवसर दिनु भयो । तिमध्ये केहीले साथ छाडे भने केहिले साथ दिए । किसुनजीको नजिक भएका भरत शम्शेरले साथ छाडेर कलकत्ता गए, कुवेर शर्मा र शरत सिंह भण्डारीले पार्टी नै परित्याग गरे ।

२०२७ सालमा शेरबहादुर देउवालाई नेविसंघको अध्यक्ष बनाउन, पंचायत कालमै उच्च शिक्षा लिन बेलायत पठाउन, २०५२ सालमा प्रधानमन्त्री बनाउन र २०४९ मा नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति बनाउन किसुनजीले साथ दिनु भयो । देउवाले किसुनजीको साथ त छाड्न चाहनु भएन तर पदचापमा भने हिँड्न नसकेको गुनासो आउने गर्छ ।

कांग्रेस नेता रामचन्द्र पौडेललाई २०५१ मा सभामुख बनाउन, २०५६ सालमा उपप्रधानमन्त्री बनाउन किसुनजीले सहयोग गर्नु भयो तर कहिले गिरिजाबाबु तिर त कहिले किसुनजी तिर ढल्किनु भयो ।

किसुनजले साथ लिने र उहाँलाई साथ दिनेहरुमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, बिमलेन्द्र निधी, प्रदीप गिरी, बलबहादुर केसी र डा. नारायण खड्का, रामहरि खतिवडा र सेविका अमिता कपाली अग्र पंक्तिमा हुनुहुन्छ ।

सिंह र गिरीलाई किसुनजीले साथ र समर्थन दिए पनि अवसरका लागि सहयोग भने गर्न सक्नु भएन् । बलबहादुर केसी नेविसंघको अध्यक्ष भएर चर्चा कमाउनु भएको व्यक्ति हो भने खड्कालाई किसुनजीले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र मन्त्री बनाउनु भएको थियो ।

किसुनजीका आलोचकहरु

विजयकुमार गच्छदार, गोविन्दराज जोशी, खुमबहादुर खड्का,अर्जुननरसिंह केसी, चन्द्र भण्डारीहरु २०५१ साल तिर किसुनजीका कट्टर बिरोधी थिए । मोरङका उमेश गिरी किसुनजीको टिप्पणी र आलोचना मात्र होइन, बेला बेलामा विरोधमा अभियान नै चलाउँथे ।

पार्टीका पूर्वसभापति सुशिल कोइरालासँग किसुनजीको सम्वन्ध हार्दिकतापूर्ण थिएन पनि भन्ने गरिन्छ । आलोचकहरु किसुनजीमाथि खोट लगाउने कुनै तर्क नभेटेपछि ‘पाने बुढो’ भनेर आफ्नो आक्रोस मेट्ने गर्दथे । खासमा किसुनजी पानको सौखिन हुनुहुन्थ्यो ।

पार्टी छाडेकालाई सहयोग गर्दा

पार्टी छोडेर गए पनि किसुनजी २०४७ सालमा तुलसी गिरीलाई उपचारको लागि आर्थिक सहयोग गर्नु भएको थियो । सो घटनालाई लिएर पार्टी भित्रका केही नेताले विरोध पनि गरे । किसुनजीले ‘अहिलेका चैते नवप्रवेसी अवसरबादी कांग्रेसभन्दा प्रजातन्त्रको लागि तुलसी गिरीको योगदान थियो, उ पंचायत प्रवेश गर्दैमा उसले दिएको योगदान भुल्न सकिन्न’ भन्नु हुन्थ्यो ।

र, अन्त्यमा

सन्त नेता किसुनजी प्रजातन्त्रप्रति आस्थावान, त्यागी, निष्ठावान, आदर्शबादी र अहिंसाबादी हुनुहुन्थ्यो भनेर कांग्रेसका नेता र कार्यकर्ताले स्तुती गाए पनि सत्तारुढ नेपाली कांग्रेसले स्वर्गीय नेताको ११ स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रम गरेन । बरु उपसभापति पूर्णबहादुर खड्काले भने सामाजिक सञ्जाल फेसबुकमार्फत सम्झनु भयो ।

जीवनको उत्तरार्धमा आफूले निर्माण गरेको पार्टी नेपाली कांग्रेस परित्याग गर्नु भएका भट्टराई सरकारले उपलब्ध गराएको ललितपुरको वाँडेगाउँस्थित आश्रममा बस्दै आउनु भएको थियो । उहाँको निधन २०६७ साल फागुन २० गते उपचारको क्रममा नर्भिक अस्पताल थापाथलीमा भएको थियो । किसुनजीप्रति हार्दिक श्रद्धासुमन ।

प्रतिक्रिया