सेयर बजार ६४ अंकले घट्यो, कारोवार रकम ३ अर्ब ६२ करोडमा सिमित


काठमाडौं – बुधबार सेयर बजारको परिसूचक नेप्से करिब ६४ अंकले घटेको छ । ६३.९८ अंकले घटेसँगै नेप्से २५४६ अंकमा अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ ।

बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जसबाट ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँको कारोवार भएको छ । यसअघि सोमबार ३ अर्ब ६६ करोडको कारोबार भएको थियो ।

सबै उपसमूह घटेका छन् । बैंकिङ २७, ब्यापार ६४, होटल तथा पर्यटन ३७, विकास बैंक १५१, जलविद्युत १०९, फाइनान्स ८०, निर्जीवन बीमा ३२३, उत्पादन २२९, अन्य ५२, माइक्रोफाइनान्स १०६, जीवन बीमा ४५३ अंकले घटेका छन् । कुल १८८ कम्पनीको मूल्य घट्यो भने ३ को बढ्यो ।

रिलायन्स लाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले बढेर प्रतिकित्ता ५७२ रुपैयाँ पुगेको छ । यसैगरी सिभिल बैंकको सेयर मूल्य २.८ रुपैयाँले बढेर २२६.३ रुपैयाँ पुगेको छ भने स्वावलम्बन लघुवित्तको सेयर मूल्य २० रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँ पुगेको छ ।

यस दिन हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ८.२६ प्रतिशतले घटेर ६ सय ३१ रूपैयाँ कायम भएको छ । युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको  सेयर मूल्य ६.६८ प्रतिशत र ङ्यादी ग्रुप पावरको सेयर मूल्य ६.१० प्रतिशतले गिरावट भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्स, टेलिकम, अरुणभ्याली हाइड्रोपावर, अपी पावर र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स  कम्पनीको १६ करोड १८ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

प्रतिक्रिया