नियन्त्रणमा लिइयो बाँकेको नरभक्षी बाघ


नेपालगन्ज – बाँकेमा श्रृङ्खलावद्ध रुपमा मान्छेको ज्यान लिईरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । लामो समयदेखि जिल्लाको राप्तीपारी आतंक मच्चाइरहेको बाघलाई बेहोस ‘डार्ट’ गरी बुधबार नियन्त्रणमा लिइएको हो ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका अनुसार फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी जंगलभित्र बाघलाई नियन्त्रणमा लिइएको छ ।

उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मंगलबार शिकार गरेको थियो । प्राबिधिकहरु बुधबार बाघलाई नियन्त्रणमा लिन सफल भए ।

पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायतको टोलीले नियन्त्रणमा लिएको हो । बाघले ५-६ महिनाको बीचमा ५ जना स्थानीयको ज्यान लिईसकेको छ भने त्यत्तिक्कै संख्यामा आक्रमण समेत गरिसकेको छ ।

प्रतिक्रिया