बनेपाको मूलसडकमा शंकास्पद बस्तु राखी आतंकित गराउने दुई पक्राउ


बनेपा — काभ्रे जिल्लाको बनेपा नगरपालिका पुलबजारस्थित मुख्य सडकमा शंकास्पद बस्तु राखी आतंकित बनाउने दुई जना पक्राउ परेका छन् । सोमबार बिहान साढे ७ बजेतिर बनेपा नगरपालिका वडा नं. १० पुलबजारस्थित अरनिको राजमार्ग सडकखण्डको बिच भागमा रातो कपडामा ‘नो एमसीसी’ लेखेर शंकास्पद रुपमा राख्ने दुई जना पक्राउ परेका हुन् ।

उक्त घटनामा संलग्न रहेको आशंकामा काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा नं. ६ का २७ वर्षीय युगान्त थिङ र सोही स्थानका २२ वर्षीय विकेश थिङ तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई सोमबार दिउँसो पौने १२ बजेतिर बनेपा नगरपालिका वडा नं. ७ मा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया