सेयर बजारको ओरालो यात्रामा निरन्तरता, कारोबार साढे ३ अर्बमा सीमित


काठमाडौं – साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४३.१० अंकले ओरालो लागेर २६१०.६० विन्दुमा झरेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेकाे छ । आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको  नेप्सेले जनाएकाे छ ।

आज सबै उपसमूहका सूचक राताम्मे भएका छन् । बैंकिङ १५, विकास बैंक ७३, फाइनान्स ४६, होटल तथा पर्यटन २४, जलविद्युत् १०२, जीवन बीमा २९५, उत्पादन १२९, माइक्रोफाइनान्स ६२, निर्जीवन बीमा २६८, अन्य ३५ र ब्यापार उपसमूह ८२ अंकले घटे ।

यस्तै कुल १८३ कम्पनीको मूल्य घट्दा ७ को बढ्यो भने एउटा स्थिर रह्यो । सोमवार बजार घट्दा  पनि एनआईसी एशिया डिबेन्चर, सनराइज ब्लुचिप, लक्ष्मी इक्विटी, तारागाउँ रिजेन्सी होटल, सानिमा जनरल इस्योरेन्ससहितका लगानीकर्ताले ०.८७ देखि २ प्रतिशतसम्मले कमाएका छन् ।

आज तेह्रथुम पावर र समालिङ्गी पावर कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले ओरालो लागेको हो । तेह्रथुम पावर कम्पनीको शेयरमूल्य रु.७८.८० ले घटेर प्रतिकित्ताको मूल्य रु.७०९.२० पुगेको छ भने समालिङ्गी पावर कम्पनीको शेयरमूल्य रु.७९ ले घटेर रु.७११ मा झरेको छ । यस्तै,दिवेश्वरी हाइड्रोपावरको शेयरमूल्य ८.५५ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.३२१ पुगेको हो ।

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै,अरुण भ्याली, हिमालयन डिष्टीलरी, अपर तामाकोशी, नेशनल हाईड्रोपावर, नेपाल लाइफ, युनिभर्सल पावर, नेपाल टेलिकम, शिव्म सिमेन्ट्स, अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ ।

प्रतिक्रिया