म यस्तो गीत गाउँछु २ को बम्पर ओपनिङ, दुई दिनमै १ करोड ८० लाखको व्यापार


काठमाडौं –  गत शुक्रबार देखि हलमा रिलिज भएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रबार र शनिबार सुखद प्रदर्शन गरेको छ । देशभरका सयभन्दा बढी हलमा रिलिज भएको फिल्मले दुई दिन १ करोड ८० लाखको व्यापार गरेको हो । यो चलचित्रले शुक्रबार देशभरका हलमा ७० लाखको व्यापार गरेको छ भने शनिबार एक करोड १० लाखको व्यापार गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ ।

शुक्रबार करिब ६० प्रतिशतको अकुपेन्सीमा व्यापार गरेको चलचित्रले शनिबार काठमाडौँका मल्टिप्लेक्समा हाउसफुलको व्यापार गरेको थियो । फिल्मले काठमाडौँका अष्टनारायण, क्युएफएक्स, बीग मुभिज, वान सिनेमाज, विएसआर, लगायतका हलमा राम्रो व्यापार गरेको थियो ।

यस्तै, काठमाडौं बाहिरका चितवन, पोखरा, नेपालगञ्ज, विर्तामोड, दमक लगायतका स्थानमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ । तीन विदेशी फिल्मका साथ रिलिज भएको फिल्मले दुई दिन विदेशी फिल्मले भन्दा राम्रो व्यापार गरेको थियो । निर्देशक सुदर्शन थापाले आफूहरूले राम्रो फिल्म बनाएकाले दर्शक आएको दाबी गरे । नायिका पूजा शर्माले दर्शकको माया देखेर आफू भावूक भएको बताइन् ।

निर्माणपक्ष, वितरक र प्रदर्शकको आँखा अब मंगलबार परेको शिवरात्रीको बिदामा छ । अधिकांश मल्टिप्लेक्सहरुले मंगलबारका लागि चलचित्रको शो वृद्धि गरिसकेका छन् । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रले कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्रको बक्स अफिसलाई चलायमान बनाइदिएको छ । कोरोनाको महामारीपछि रिलिज भएका चलचित्रमध्ये ‘म यस्तो गीत गाउँछु २’ ठूलो ओपनिङ गर्ने चलचित्र बनेको वितरक करण श्रेष्ठले बताएका छन् । महाशिवरात्रीको विदामा पनि चलचित्र आक्रामक कमाई गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया