हेटौँडा उपमहानगरपालिकाले सम्झौता गरे २९९ योजना
बागमती – हेटौँडा उपमहानगरपालिकाले पूर्वाधार विकास निर्माणका लागि २९९ योजना सम्झौता गरेको छ ।
उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा २९९ वटा योजना सम्झौता गरी कार्यान्वयनमा ल्याइएको छ । यो चालु आर्थिक वर्षको कुल योजनाको २४.१७ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले एक हजार २३७ वटा योजना अगाडि सारेको जनाएको छ ।
योजना महाशाखाका अनुसार चालु आवको प्रथम त्रैमासिकसहित विगत सात महिनामा २९९ वटा योजना सम्झौता गरेको जनाएको छ । चालु आवको प्रथम तीन महिनामा २०६ योजना सम्झौता भएको सो शाखाका किरण थापाले जानकारी दिए । उपमहानगरपालिकाको ठेक्कामार्फत नौमध्ये छ वटा योजना सम्झौता भई निर्माण कार्य अगाडि बढेको र दुई वटा योजना बोलपत्र मूल्याङ्कनमा रहेको सो शाखाले जनाएको छ । नौ योजनामध्ये सात वटा आन्तरिक स्रोतबाट तथा दुई वटा बागमती प्रदेश सरकारसँग समपूरक लगानीको रहेको बताइएको छ ।
१० लाखभन्दा कमका योजना सम्बन्धित उपमहानगरपालिकाको वडा कार्यालयले सम्झौता गर्ने भएकाले त्यसको तथ्याङ्क तत्काल उपलब्ध हुन नसकेको बताइएको छ । सडक, नाला र पुलसहित अन्य भौतिक पूर्वाधारको विकास निर्माणमा उपमहानगरपालिकाले विशेष जोड दिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
यसैबीच उक्त उपमहानगरपालिकाले चालु आवको छ महिनामा १५ करोड ३१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो रकम सम्पति करसहित विभिन्न शीर्षकबाट असुल भएको बताइएको छ ।