माओवादीले तत्काल सरकार छोड्नुपर्छ : भट्टराई


काठमाडौं – सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले संसद्‌बाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले आफूहरु संसद्‌बाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागि परेको बताउदै संसद्‌बाट एमसीसी पास गर्ने बेला माओवादी बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए । उनले एमसीसी सम्झौता संसद्‌मा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने बताए ।

अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । उनले एमसीसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए ।

प्रतिक्रिया