एमसीसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने : सञ्चार मन्त्री कार्की


काठमाडाैं – मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल केहीबेरअघि सकिएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस र नेकपा एमालेका अन्य शीर्ष नेताहरूसमेत सहभागी छलफलमा संसद्को अवरोध हटाउने र एमसीसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

छलफलमा सहभागी भएर बाहिरिने क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री कार्कीले प्रतिनिधि सभामा टेबल भएको एमसीसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताए । उनले भने, ‘संसद् सुरु गर्नका निमित्त प्रधानमन्त्रीज्यूले लचकताका साथ अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ र यो छलफलले संसद् सुरु हुने विश्वास छ, एमसीसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्छ ।’

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिमा संसद् सुरु भइ एमसीसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ । उनले समयसीमाभित्रै एमसीसी पारित हुने विश्वास पनि व्यक्त गरे । देशकाे हितका लागि आवश्यक एमसीसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने उनले बताए ।

प्रतिक्रिया