

अनिता–सरोजको प्रेम सम्बन्धमा काँडा बनेका दिनेशको योजनाबद्ध हत्या!

काठमाडौं – इलाम बाँझो घर भई हाल झापा दमक–५ का दिनेश सिग्देल रोजगारीको सिलसिलामा बहराइनमा थिए। तर, उनी अचानक १५ दिनको बिदा लिएर जनवरी ४ अर्थात गत पुस २० गते नेपाल ओर्लिए।
त्यसको भोलिपल्टै मोरङ विराटनगर पुगे। २१ गते विराटनगरमा कान्छी श्रीमती अनिता केसीसँग भेट भयो। अनिता मोरङ विराटनगर–३, पिपल चोकमा डेरा लिएर बस्दै आएकी थिइन्।
दिनेश विराटनगर पुगेको दिन उनीहरु विराटनगर नोबेल अस्पताल नजिकैको एक होटेलमा बसे।
तर, २२ गते बेलुकी उनीहरू आफ्नै कोठामा गए। दिनभर बाहिर घुमेर बाहिर नै रक्सी, खाना खाएर उनीहरु कोठामा पुगे।
रक्सीको नसामा रहेको दिनेशले श्रीमतीलाई ‘तँ अर्कैसँग लागेको छस् भन्ने हल्ला सुनेको छु। खासकुरा के हो भन भन्दै’ विवाद सुरु गरे। ‘मैले कमाएको सम्पत्ति कहाँ ब्याज लगाएको छेस् देखा’ भन्दै सोध्न थाले।
मृतक सिग्देलको यो फोटो २०२० फेबुवरीमा बहराइन जाँदा ।
हुनपनि आफ्नी श्रीमती अर्कैसँग लागेको छ भन्ने हल्ला सुनेपछि दिनेश त्यहि भएर नेपाल आएका थिए। अनिताले श्रीमान दिनेशको उक्त कुरा सहन सकिनन्।
केही समयपछि सोही कोठामा श्रीमतीको साथी भन्दै विाटनगर महानगरपालिका–४ इक्राही टोलका २९ वर्षीय सरोज भण्डारी पुगे। उनीहरु सुत्ने खाटमा गएर बसे। जतिबेला दिनेशसँग केही सामान्य कुरा भयो।
उनै सरोज–अनिता पछिल्लो ५/६ महिनादेखि श्रीमान–श्रीमतीझै बस्दै आएका थिए। नेपाल आएको थाहा पाउनेवित्तिकै उनीहरुले दिनेशको हत्या गर्ने योजना समेत बनाएका थिए।
सोही योजना अनुरुप रक्सीको नसामा रहेको मौका छोपेर सरोजले साथमा लिएर गएको गलबन्दीले दिनेशको घाँटी कस्न भ्याए। दुवैजना मिलेर कसे। जब दिनेशको मृत्यु भयो सोहीरात शव त्यहिँ राखे। तर, उनीहरु दुवैजना बाहिर गएर बसे।
त्यसको भोलिपल्ट अर्थात २३ गते बिहानै उनीहरुले नजिकैको पसलबाट चार हजार रुपैयाँमा ग्रेण्डर मेसिन, ३ वटा जेब्रा झोला र पोलिथिन किनेर लगे। दुवैजनाले लाशलाई व्यवस्थापन गर्न ग्रेण्डर मेसिन र घरमा रहेको खुकुरीको सहायताले दिनेशको घाँटी छुट्याइदिए।
त्यसपछि उनीहरुले दाहिने तिघ्रा समेत छिनालिदिए । टाउको र तिघ्राको भाग एउटा झोलामा र शरीरको भाग अर्को झोलामा राखेर भाडामा ट्याम्पो खोज्न निस्किए। भाडामा ट्याम्पो पाएपछि इटहरी–धरान हुँदै उक्त मानवअंग धरान–धनकुटा सडकखण्डको जेठामाने गोलाईस्थित सडकभन्दा २४ फिट पश्चिममा फालिदिए।
सो रात उनीहरु भेडेटारमा नै बसे। भोलिपल्ट मात्र उनीहरु विराटनगर फर्किए ।
यसरी अनिता र सरोजको प्रेम–सम्बन्धमा काँडा बनेर अचानक बहराइनबाट फर्किएपछि दिनेशको योजनाबद्ध रुपमा हत्या भएको हो।
२२ गते राति नै हत्या भएपनि दिनेशको शव गएको फागुन ४ गते र फागुन ५ गते अलग–अलग स्थानमा जेब्रा झोलाभित्र भेटिएको हो।
धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाई नजिक जंगलमा गोठाला र दाउरा खोज्न जानेले जेब्रा झोला देखेको र सो झोलाबाट दुर्गन्ध आएकाले शंका लागि खोलेर हेर्दा मान्छे देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले झोला खोलेर हेर्दा मानिसको टाउको र दाहिने खुट्टा फेला परेको थियो।
सिग्देलको यो फोटो २०२० नोभेम्बरमा बहराइनबाट नेपाल फर्किँदा।
त्यसको भोलिपल्ट ५ गते बिहान प्रहरीले फेरी अर्को जेब्रा झोलामा बाँकी शरीर पहिले टाउको र खुट्टा भेटिएको स्थान भन्दा करिब १ किलो मिटरमाथि जंगलमा फेला पारेको थियो।
प्रहरी दिनरात नभनी शवको सनाखत गर्न लागिपर्यो। अलग–अलग झोला र स्थानमा टुक्रा पारिएको अवस्थामा भेटिएको शवको सनाखत हुन नसक्दा जिल्ला प्रहरी कार्यालय, सुनसरीले मृतकको स्केच तस्बिर र हुलिया सार्वजनिक गर्यो।
बहराइन प्रहरीको सहयोगमा शवको पहिचान
विभिन्न ठाउँमा वितरण गरी समन्वय गर्दा समेत सनाखत नभएपछि शवसँगै फेला परेको फेस मास्क र भिजिटिङ कार्डका आधारमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले बहराइन प्रहरीसँग समन्वय गर्यो।
शवसँगै तातवीर पेट्रोलियम, बीएम मास्क लेखिएको फेस मास्क र रियो टुर्स लेखिएको भिजिटिङ कार्ड फेला परेको थियो। इन्टरपोल शाखाले समन्वय गर्दा बहराइन प्रहरीले तातवीर पेट्रोलियममा सेक्युरिटी गार्डको काम गर्ने इलाम घर भएका दिनेश सिग्देल बिदामा गएको र हालसम्म पनि फर्केर नआएको जानकारी दियो।
अध्यागमन विभागको रेकर्डमा समेत उनी जनवरी ४, २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको पाइयो। त्यसपछि प्रहरीले मृतक सिग्देलका बुवा सुरेन्द्र सिग्देल र उनकी जेठी श्रीमती निर्मला सिग्देलमार्फत शवको सनाखत गरेको थियो।
सिग्देलको यो फोटो ४ जनवरीमा नेपाल आउँदा।
शव भेटिएको ६ दिनमा प्रहरी मृतकका जेठी श्रीमतीसम्म पुग्यो
यसरी शव भेटिएको ६ दिनपछि प्रहरी मृतकको घरमै पुगेको हो। मृतक दिनेशका परिवारले दोस्रो विवाह गरी कान्छी श्रीमतीसँग बस्ने गरेको र विदेशबाट आउँदा सधैँ त्यहाँ जाने गरेको भन्ने जानकारी दिएपछि प्रहरीले अनिता केसीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
प्रहरीको नियन्त्रणमा रहेकी निताले सुरुमै अभयोग स्वीकारिन्। प्रेमी सरोजसँग मिलेर दिनेशको हत्या गरेको बयान उनले प्रहरीलाई दिइन्।
त्यसपछि प्रहरीले अनिताको प्रेमी सरोजलाई समेत पक्राउ गर्न सफल भयो। पक्राउ परेका उनीहरुलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
दिनेशले कमाएको पैसामा मोजमस्ती!
दिनेशले कमाएको रकममा आफ्नो प्रेमीसँग मिलेर अनिताले मोजमस्त्री गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए। सोहीकुरा थाहा पाएपछि लामो समयदेखि नै दिनेश–अनिताबीच खटपट थियो।

राहदानीमा भएको सिग्देलको फोटो ।
श्रीमान् दिनेशले विदेशबाट पठाएको रकम अनिताले प्रेमी सरोजलाई नै दिने गरेकी थिइन्। दिनेशले आफूले पठाएको पैसाको हिसाब खोज्दा अनिताले ब्याज आउने गरी ऋणमा लगाएको छु भन्ने जवाफ दिने गरेकी थिइन्।
प्रहरीका अनुसार पैसाकै विषयमा दिनेश र अनिताबीच झगडा समेत हुने गरेको थियो। दिनेशबाट अझै केही पैसा निकाल्ने र उनी विदेशमा हुँदै विवाह गर्ने उनीहरुको योजना थियो। उनीहरु विवाहको अन्तिम तयारीमा थिए। तर, दिनेश बहराइनबाट नेपाल आएपछि भने उनीहरुको विवाह गर्ने योजना पूरा हुन पाएन।
सरोजको समेत पहिले नै विवाह भइसकेको थियो। उनका १ छोरा समेत छन्। विराटनगरमा सिटी सफारी चलाउँदै आएका सरोजको श्रीमतीसँग पनि राम्रो सम्बन्ध नरहेको एसपी थापाले बताए।
श्रीमतीसँग सम्बन्धमा दरार आएपछि सरोजकी श्रीमती माइतीमा नै बस्दै आएकी थिन् र पछिल्लो समय सम्बन्ध विच्छेदको चरणमा थिए दुवैजना।
००००
साथै, दिनेशको हत्यामा प्रयोग भएको गलबन्दी, शव काट्न प्रयोग भएको ग्रेण्डर मेसिनलगायत सामान पनि बरामद भएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिए।
डिएसपी कुँवरका अनुसार अनिता र उनका प्रेमी सरोजलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

