

जेब्रा झोलाभित्र मृत भेटिएका दिनेश सिग्देलको हत्यामा संलग्न पुर्पक्षका लागि कारागार चलान

काठमाडौं – प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरी शव जंगलमा फाल्ने दुई जना र ट्याम्पो चालक पुर्पक्षका लागि थुनामा गएका छन्। जिल्ला अदालत सुनसरीले यस्तो आदेश दिएको हो।
मोरङ धरान–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलामा शव फ्याँक्ने ३० वर्षीय अनिता केसी, उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी र ३२ वर्षीय खेमराज खत्री पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरका अनुसार अदालतले धरान–४ स्थित धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाईको जंगलमा अलग–अलग जेब्रा झोलामा टाउको र शरीर भेटिएको दिनेश सिग्देलको हत्यामा संलग्न उनकै कान्छी श्रीमती केसी र भण्डारीलाई कारागार चलान गर्ने आदेश दिएको हो।
त्यस्तै सो घटनामा संलग्न भएका शव व्यवस्थापनमा साथ दिने ट्याम्पो चालक स्थायी ठेगाना गौरदह नगरपालिका–४ धिमधिमे र हाल अस्थायी रुपमा विराटनगर महानगरपालिका–४ खार्जी बस्दै आएका खत्री पनि पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
उनले शव व्यवस्थापन गर्न विराटनगरदेखि भेडेटारसम्म ल्याउन सहयोग गरेको भन्दै अदालतले ५ लाख धरौटी तोकेको थियो। तर, धरौटी बुझाउन नसक्दा ट्याम्पो चालक खत्री पनि पुर्पक्षका लागि कारागार चलान भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
गएको फागुन ४ गते र फागुन ५ गते अलग–अलग स्थानमा भेटिएको जेब्रा झोलाभित्र सिग्देलको शव भेटिएको थियो। माघ २२ गते राति नै हत्या भएपनि दिनेशको शव गएको ४ गते मात्र जेब्रा झोलाभित्र भेटिएको हो।
शरीरका पूर्ण भाग फेला परे पनि शवको सनाखत हुन नसके पछि प्रहरीले ६ गते उनको स्केच पहिचानका लागि सार्वजनिक गरेको थियो। मृतक वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा रहेपनि जनवरी ४ मा नेपाल फर्केका थिए।
आफूले विदेशमा कमाएको रकममा आफ्नो प्रेमीसँग मिलेर अनिताले मोजमस्त्री गर्दै आएको थाहा पाएपछि लामो समयदेखि नै दिनेश–अनिताबीच खटपट थियो। श्रीमान् दिनेशले विदेशबाट पठाएको रकम अनिताले प्रेमी सरोजलाई नै दिने गरेकी थिइन्।
दिनेशले आफूले पठाएको पैसाको हिसाब खोज्दा अनिताले ब्याज आउने गरी ऋणमा लगाएको छु भन्ने जवाफ दिने गरेकी थिइन्। पैसाकै विषयमा दिनेश र अनिताले दिनेशको हत्या गरेको प्रहरीको दाबी छ।

