एमसीसी संसदमा टेबल गरेकाेमा उद्याेग परिसङ्घद्वारा स्वागत


काठमाडाैं – सरकारले अमेरिकी सहयाेग एमसीसी सम्झौता संसदमा टेबल गरेकोमा नेपाल उद्योग परिसङ्घले स्वागत गरेको छ ।

परिसङ्घले आज आइतवार विज्ञप्ति निकालेर २०७४ भदाै २९ गते सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट अनुमोदन भइ कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसङ्घ विश्वस्त रहेको जनाएको छ ।

साथै देशको आर्थिक विकासमा रणनीतिक महत्त्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्त्वपूर्ण रहेको उल्लेख छ ।

लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्ने, दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपछिकाे आर्थिक पुनरोत्थानका लागि ठूलो लगानी चाहिने भएकाले एमसीसी जस्ता सहयोग परियोजना आवश्यक रहेको पनि विज्ञप्तिमा भनिएको छ ।

आयोजना कार्यान्वयन सुरु भएको मितिले पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने प्रावधानका कारण नेपालमा विकास व्यवस्थापनको नमुना समेत एमसीसी परियोजनाले प्रस्तुत गर्ने परिसङ्घले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया