
एमसीसीको विपक्षमा सत्ता गठबन्धनका चार राजनीतिक दल एकढिक्का!
काठमाडौं – अमेरिकी सहयोग परियोजना (एमसीसी) को विपक्षमा सत्ता गठबन्धनका पाँच राजनीतिक दलमध्ये चार राजनीतिक दल एक ठाउँमा उभिएका छन्।
एमसीसीको विपक्षमा सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएका हुन्।
एमसीसी संसदबाट अनुमोदन गर्ने कि संशोधनपछि मात्र प्रस्तुत गर्ने भन्ने विषयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एकढिक्का रहेका छन्।
सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस मात्रै एमसीसी अनुमोदन गर्ने पक्षमा छ। तर एमसीसी कुनैपनि हातलमा पास हुनुहुँदैन भन्ने पक्षमा राष्ट्रिय जनमोर्चा छ।
जनमोर्चाले यो एमसीसी सम्झौता सिधै खारेज हुनुपर्ने अडान राखेको छ। यद्यपी, एमसीसीबारे प्रचण्ड, नेपाल र यादवले लिएको अडान ठीक भएको भन्दै जनमोर्चाले पनि आफ्नो साथ रहेको बताउँदै आएको छ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यथास्थितिमा एमसीसी स्वीकार्न नसक्ने निर्णय लिएको छ।
आज १ बजे संसद बैठक बोलाइएको थियो। तर, प्रचण्ड र नेपालले आजको संसदमा एमसीसी टेबल भए आफूहरुले प्रतिवाद गर्ने जानकारी दिएपछि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ब्याक हटे।
सत्ता गठबन्धनका बहुमत दल एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवासमेत तत्काल सम्झौता संसदमा टेबुल गर्ने अडानबाट पछाडि हटेका हुन्।
एमसीसीमा राष्ट्रिय सहमति जुट्नुपर्ने, संसदमा रहेका दलहरुबीच सहमति जुट्नुपर्ने र त्यसो नगरी जबर्जस्ती सम्झौता टेबुल गरिए गठबन्धन तोडेर विपक्षमा मतदान गर्ने चारदलले चेतावनी दिएको थियो।



कागजपत्र |
