
सुकुम्बासी ठग्ने गिरोहः दुई लाख दिनुस्, चार आना जग्गा पक्का!
काठमाडौं – ‘भूमि आयोगको मान्छे हुँ, जमिन दिलाई दिन्छु’ भन्दै सुकुम्बासीसँग रकम लिई ठगी गरेको अभियोगमा २ जना प्रहरीको फन्दामा परेका छन्।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका घर भएका ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्षीय उद्धव भण्डारी रहेका छन्।
सुकुम्बासीमाथि ठगी गर्न खोज्ने उनीहरुले ‘दुई लाख रुपैयाँ दिए चार आना जग्गा पक्का’ भन्दै सुकुम्बासीलाई प्रलोभनमा पारिरहेको प्रहरीको दाबी छ।
उनीहरुले आफूलाई भूमी आयोगबाट खटाइएको कर्मचारी बताएर ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।
डिएसपी मिश्रकाअनुसार काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरुले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्छौं फाराम भर्नुपर्छ भनी पैसा असुल गरिरहेको भन्ने सूचनाको आधारमा बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, ‘भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम’ लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, विभिन्न व्यक्तिहरुको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थान बरामद भएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।



कागजपत्र |
