पुस १४ र १५ मा भर्चुअल नेपाल लिटरेचर फेस्टिभल


काठमाडौं – आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण यही पुस १४ र १५ (२९ र ३० डिसेम्बर, २०२०)मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ । 

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहनेछैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।

कोभिड कहरका कारण लामो समयसम्म आफूहरू फेस्टिभलको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए । उनले थपे, ‘भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा हामी जुटेका हौं ।’ 

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए । भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ । ‘भौतिक रुपमा दर्शक एवम् श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको थियो,’ उनले भने, ‘तर कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन ।’

यसैगरी सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । ‘पोखरा माछापुच्छ«ेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’

फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्माले भनिन्, ‘आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग मेरो धेरै पुरानो नाता छ । म आबद्ध बुक क्लब, ह्वाट द बुक क्लबको स्थापनाको श्रेय पनि आइएमई नेपाल लिटरेचर फेस्टिभललाई नै जान्छ । किनकि यही एक मात्र साहित्यिक जमघटका कारण हामीले हालको समयमा पोखरेली युवाहरूमा पठन संस्कृति विकास गर्न सफल भएका छौं ।’

आइएमई नेपाल लिटरेचर फेस्टिभल जस्ता कार्यक्रमले युवाहरूलाई साहित्यप्रति जागरुक गराएको उनको भनाइ छ । ‘यसले एकै छानामुनि आफूलाई मनपर्ने साहित्यकार एवम् कलाकार र विशिष्ट व्यक्तित्वसँग भेट गर्ने अवसर जुराउँछ,’ उनले भनिन्, ‘हाल कोभिड–१९ का कारण यो अवसर जुट्न नसके पनि हामी यो वर्ष देश तथा विदेशमा रहेका साहित्यप्रेमी तथा शुभचिन्तकसँग युट्युब लाइभबाट जोडिनेछौं ।’

प्रतिक्रिया