‘कि लास चाहियो, कि सास चाहियो’का सर्जक खत्री अब सक्रिय राजनीतिमा
बाग्लुङ – लोकगायक विष्णु खत्री सक्रिय रुपमा राजनीतिमा हाम फालेका छन् । विशेष गरी समाजमा घटित घटनाक्रमलाई गीतमा ढाल्न खप्पीस एवं बरिष्ठ लोकसर्थक खत्री अब नेकपा (माओवादी केन्द्र)बाट सक्रिय राजनीतिमा छिरेका हुन् । खत्री हालैमात्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् ।
गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार÷आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ’, उनले भने ।
राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सँधै क्रियाशील भएर लाग्ने उनले बताए । गलकोट–७ मल्मका खत्री यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरेका थिए ।
उनी विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत भएका थिए ।
शब्द रचना र भाका निर्माणमा पनि पोख्त खत्रीले गीतकामार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन् । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन् ।
माओवादी केन्द्रले नगर समितिका अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।