


खैरो हिरोइनसहित धरानबाट सातजना पक्राउ

काठमाडौं – प्रहरीले धरानका विभिन्न स्थानबाट खैरो हिरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाइ कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले आइतबार साँझ धरान उपमहानगरपालिका– १३ स्थित शिवधारा बेसक्याम्प टोलस्थित नरेश मगरको घरबाट चारजनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको प्रारम्भिक बयानको आधारमा अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मगरको भुइँ कोठामा रहेको काठको पलङमाथि सिरानीमुनि सेतो प्लास्टिकभित्र लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ र डिजिटल तराजुसमेत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
२० ग्राम तौल रहेको उक्त हिरोइन बेचबिखन गर्न ल्याएको खुलेको छ । उक्त कोठाबाट धरान– १३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश लिम्बू, २६ वर्षीय सुजन श्रेष्ठ, ३० वर्षीय मन्दीप मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुपदार्थ जोख्न प्रयोग भएको तराजुसमेत फेला परेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो ।
उनीहरू पक्राउ परेपछि थप अनुसन्धान गर्दा धरान– १२ चतरालाइनस्थित नगरपालिका गेटअगाडिबाट २६ वर्षीय जनम मगरलाई चार ग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी सोही दिन बेलुका धरान– ३ भानुस्मृति पथबाट धरान– ३ का २० वर्षीय सारन खड्गीलाई फेला पारी शंका लागी निजको शरीर तलासी गर्दा निजले लगाएको ट्रयाकको गोजीमा सेतो रंगको प्लास्टिकमा लुकाएर राखेको अवस्थामा सात ग्राम खैरो हिरोइन फेला परेको थियो । उनीसँगै सोही वडाका २२ वर्षीय राजीव मगर पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
धरान– १३ बाट सुरुमा पक्राउ परेका चारजनाबाट अन्यको सम्पर्क नम्बर लिएर फोन सम्पर्क गरी प्रहरीले अन्यलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर हेमराज ओलीका अनुसार तराजु प्रयोग गरेर कारोबार नै गर्दै आएको पाइएको छ । प्र
हरीका अनुसार पक्राउ पर्नेलाई थप अनुसन्धानका लागि सोमबार बिहान म्याद थप गर्न जिल्ला अदालत इनरुवामा पठाइएको छ । उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

