मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ
पर्सा – मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-७ घर भई हाल चितवन भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बैतडी घर भएकी १४ वर्षीया बालिका माघ ७ गतेदेखि घरबाट सम्पर्कबिहीन भएको घटनाको अनुसन्धान एवम् खोजतलास गर्ने क्रममा पर्सा वीरगंज महानगरपालिका-१६ स्थित शंकराचार्य गेट हुँदै भारततर्फ लैजान लागेको अवस्थामा बालिकालाई फेला पारी माइती नेपाल संस्थाको समन्वयमा प्रहरीले उद्धार गरेको थियो ।
साथै ती बालिकाको साथमा रहेका अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकारीले बालिकासँग १ महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाई अर्घाखाँची लगि विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याई वीरगंज बसपार्कसम्म ल्याई ईनर्वा नाका हुँदै भारततर्फ बेचबिखन गर्न लैजान लागेको खुल्न आएको हो ।
उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।