साढे १० वर्षकी बालिकालाई जबर्जस्ती करणी गर्नेलाई १८ वर्ष कैद


काठमाडाैँ – नवलपरासी जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गर्ने एक व्यक्तिलाई अठार वर्ष कैद सजाय सुनाएको छ। बर्दघाट नगरपालिका–१२ बस्ने प्रकाश पौडेललाई अदालतले १८ वर्ष कैद हुने फैसला सुनाएको हो।

पौडेलले २०७७ साल मङ्सिर १६ गते साढे १० वर्षकी स्थानीय बालिकालाई जबर्जस्ती करणी गरेका थिए।

न्यायाधीश अशोककुमार बस्नेतको इजलासले आवश्यक प्रमाणका आधारमा पौडेललाई अठार वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार एवं सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए।

प्रहरीका अनुसार बाबुआमासँगै आफन्तको घरमा गएकी बालिकालाई खेलिरहेको साँझको समयमा नयाँ लुगा किनिदिने भनी ललाईफकाई घरभन्दा केही पर लगी जबर्जस्ती करणी गरेका थिए। पौडेललाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो।

अदालतले पीडित बालिकालाई एक लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ । प्रतिवादी पौडेलको आर्थिक अवस्था कमजोर रहेको र निजबाट क्षतिपूर्ति भराउने अवस्था नभएकाले अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम स्थापना भएको पीडित राहत कोषबाट पीडितलाई क्षतिपूर्ति भराउन आदेश गरेको स्रेस्तेदार पौडेलले जानकारी दिए। रासस

प्रतिक्रिया