एकीकृत समाजवादीले नयाँ कार्यालय मलंगवामा


मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवामा आज नेकपा एकीकृत समाजवादीले आफ्नो जिल्ला कार्यालय उद्घाटन गरेको छ । कोभिड सचेतता अपनाउँदै सानो कार्यक्रमकाबीच जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको पार्टी प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए ।

पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहले रिबन काटेर कार्यालय उद्घाटन गरे । कार्यक्रममा मन्तव्य राख्दै उनले स्थानीय चुनाव आगामी बैशाखमा गर्न नेपालको संविधानले नै बाटो बन्द गरेको दाबी गरे । उनले संविधानमा स्थानीय जनप्रतिनिधिको पाँच वर्षीय कार्यकाल पूरा भएको छ महिना भित्र चुनाव गराउने प्रावधान रहेको स्मरण गराए ।

जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय नेताहरू रवीन्द्र बैठा, डिल्ली उप्रेती, बेची लुङेली, जिल्ला उपाध्यक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, मलंगवा नगर अध्यक्ष राजाराम साहले मन्तव्य राखेका थिए ।

मलंगवाको शिबसागर चोकमा खुलेको कार्यालय अब नियमित रूपमा खुल्ला रहने प्रचार विभाग प्रमुख चूडामणि वाग्लेको दाबी छ । नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया