केशरमहलबाट हराएको बाघको टाउको र तरबारसहित दुई पक्राउ


काठमाडौं – महानगरीय अपराध महाशाखाले केशमहलस्थित केशर पुस्तकालयबाट पुरातात्विक सामाग्री चोरी गर्ने दुई जना पक्राउ गरेको छ ।

महाशाखाका अनुसार २०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहल भित्र रहेको केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको अस्थाई सुचिकरण गरिएका विभिन्न वस्तुहरु गत बुधबार बाघको टाउकोको नम्बर २६, केशर समसेरको पोसाक लुगा सेट मध्येको तरवार थान २ (नम्बर ३४ र ३५) समेत चोरी भएको घटना अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटी गएको टोलीले फेला पारेको थियो ।

महाशाखाले उक्त सामाग्री फेला पारी अनुसन्धान गर्दा चोरी कार्यमा संलग्न गणेश श्रीपाली भन्ने गणेश बिश्वकर्मा, दिपेन्द्र भन्ने देबेन्द्र के।सी।, सुमन शर्मा र बिर बहादुर सुनार समेतको संलग्नता रहेको खुल्न आएकाले खोजतलास गर्दै जाँदा दिउँसो चार बजेतिर काठमाडैं – २६ केशरमहलमा पुग्दा दाङ घर भई हाल बसुन्धरा बस्ने सुमन शर्मा र रुकुम घर भई हाल केशरमहलमै बस्दै आएका बिर बहादुर सुनारलाई फेला पारी पक्राउ गरी थप अनुसन्धान र कानुनी प्रकृयाको लागी महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पठाएको जनाएको छ ।

उक्त पुरातात्विक महत्वका सामाग्रीहरु केशरमहलमा बोरामा राखी फालेको अवस्थामा रातो कलेजी रङको दाप भएको लम्बाई ९३ से.मी. र चौडाई ३ से.मी. भएको सेतो कालो रङको धातुको बिड भएको तरवार थान १, लम्बाई ९८ से।मी। र चौडाई ४ से.मी. भएको सेतो हड्डीको जस्तो बिड भएको तरवार थान १ र टुप्पोदेखी गर्धन सम्मको लम्बाई ३८से.मी. भएको गोलाई ६७ से.मी. भएको तौल गर्दा ३ के.जि. तौल भएको बाघको जस्तो टाउको देखिने वस्तु थान १ फेला परेको थियो ।

उनीहरको साथबाट मोबाइल दुई थान, गोल्डस्टार जुत्ता एक जोर र एउटा स्कुटर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया