कोरोनाका बिरामी अस्पतालमा छैनन, घर-घरमा


काठमाडौं – नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ ।

बुधबार २३ हजार ४ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको दर एक सातादेखि धेरै संख्यामा बढिरहेको अधिकारीले बताए ।

संक्रमण दर बढे पनि जटिल अबस्थामा बिरामी भएर अस्पताल भर्ना हुने दर भने कम रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

पछिल्लो साताको तुलनामा हाल १४.०२ प्रशिततले कोरोना संक्रमण दर बढेको डा. अधिकारीले बताए । मन्त्रालयका अनुसार देशभर आईसीयूमा १ सय ६९ जना उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना कोरोना संक्रमित उपचाररत छन् ।

दोस्रो लहरमा कोरोना संक्रमणको दर बढेसँगै जटिल खालका बिरामी थपिनेको संख्या बढेका थिए । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै नेपालमा देखिएको कोरोना संक्रमित गम्भीर खालको समस्यामा देखिएका छैनन् । हाल ५० हजार सक्रिय संक्रमित देखिँदा अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनेको संख्या १ सय ७९ जना मात्रै रहेको डा. अधिकारीले जानकारी दिए ।

हाल यो भेरिएन्ट छिटो फैलने र छिटो निको हुने क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको लक्षण देखिना साथ पीसीआर परीक्षण नगर्न भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कोरोनाका लक्षण देखिनासाथ पाँच दिन क्वारेन्टाइन बसाइँपश्चात् मात्र कोभिड परीक्षण गर्नुपर्ने बताए ।

‘ओमिक्रोन भेरिएन्ट अलि बढी संक्रामक छ । खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराउन सक्छ । पाँच दिन क्वारेन्टाइन, नभए सात दिनसम्म आइसोलेसनमा बस्नुपर्छ, निर्देशक डा. पौडेलले भने, ‘यो भेरियन्टमा ज्वरो आउनु, नाक बन्द हुनु, रुघाखोकी लाग्नु, घाँटी दुख्नु कोभिडका लक्षण हुन सक्छन्, उनले भने, ‘पहिलाको तुलनामा अस्पतालमा भर्ना हुने दर कम देखिएको छ ।’ उनले हावा खेल्ने ठाउँमा बस्दा कोरोना संक्रमण फैलन नसक्ने भएकाले खुला ठाउँमा बस्न सुझाव दिए ।

११ हजार २ सय ४७ जनाले लगाए बुस्टर डोज
देशभर ११ हजार २ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज दिन सुरु गरिएको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म ११ हजार २ सय ४७ जनाले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाइसकेका छन् । २ माघदेखि सरकारले देशभर अग्रपंक्तिमा खटिनेहरूका लागि बुस्टर डोज अभियान सुरु गरेको हो । कोरोना भाइरसविरुद्धको दुवै डोज लगाइसकेकाहरूको ६ महिना पूरा अवधि पुगेकाहरूका लागि कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप दिइएको हो ।

हालसम्म १ करोड ६० लाख लाख बढीले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । हालसम्म १ करोड २४ लाख बढीले दुवै डोज खोप लगाएका छन् ।

पीसीआर शुल्कमा समायोजन
कोरोना भाइरसको पीसीआर परीक्षणमा धेरै भएको भन्दै जनस्तरबाट विरोध आएपछि सरकारले बुधबारदेखि परीक्षण शुल्कको दर घटाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोभिड १९ को परीक्षण सशुल्क गर्नुपरेमा सरकारी प्रयोगशालाहरूको हकमा ८ सय रुपैयाँ तोकिएको छ भने निजी प्रयोगशालाको हकमा १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । यसअघि सरकारी प्रयोगशालाले १ हजार र निजी प्रयोगशालाले २ हजार रुपैयाँ शुल्क लिँदै आएका थिए ।

सीमा नाका र स्थानीय तहमा निःशुल्क परीक्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोभिडको लक्षण देखिएकाहरूका हकमा र चिकित्सको सल्लाह र सिफारिसअनुसार कोभिड–१९ परीक्षण गर्नुपरेमा सरकारी प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सीमा नाकाहरूमा नेपाल प्रवेश गर्ने यात्रुहरूका लागि निःशुल्क एन्टिजेन्ट परीक्षण व्यवस्था गरिएको छ । साथै स्थानीय तहमा पनि निःशुल्क एन्टिजेन्ट परीक्षण र पीसीआर परीक्षणका लागि नमुना संकलनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया