फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मटि्लतेलको साबिकको बिक्रि मूल्यमा वृद्धि गरेको हो ।
निगमले पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।
आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।
पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो । आजको मूल्य समायोजन पश्चात् पनि १५ दिनमा करीब १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुने स्थिति देखिएको निगमले बताएको छ ।